वीरगंज, भदौ २६ । वीरगंजको कोरोना रोकथाम तथा नियन्त्रणकालागि घोषित निषेधाज्ञा सहित सिमा क्षेत्रमा आवतजावतमा गरीएको उच्च निगरानीका कारण वीरगंजमा कोरोना संक्रमण संख्यात्मक रुपमा नियन्त्रणमा आएपनि पुनः संक्रमण फैलिन सक्ने भन्दै स्थानीय प्रशासनले जिल्लावासीलाई उच्च स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले चैत्र ३१ गते वीरगंजमा देखिएको कोरोना संक्रमण असारको अन्तिममा आईपुग्दा शुन्यमा झरेको र साउनको पहिलो साताबाट शुरु भएको दोस्रो चरणको संक्रमण भदौको अन्तिम सातामा समेत कायमै रहेको बताउनु भयो ।
उहाँले तेस्रो चरणमा वीरगंजमा कोरोना संक्रमण फैलिन नदिन निषेधाज्ञालाई भदौ ३१ गते सम्म पुर्याइएको र आगामी दिनमा अवस्था हेरेर असोज १ गते देखि जनजीवन सामान्य बनाउन नयाँ निर्णय लिन सकिने बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी तामाङले वीरगंजमा कोरोना रोकथाम तथा नियन्त्रणकालागि चालिएका कदममा नागरिक समुदायको समर्थन रहेकोले सफलता प्राप्त हुँदै गएको बताउनु भयो ।
