वीरगंज, भदौ ११ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजले वीरगंजमा १७० बेड र काठमाडौंमा ३ सय ३४ बेड गरी ५ सय ४ बेडको दुई वटा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ ।
कलेजका प्रबन्ध निर्देशक मो. बसरुद्दीन अन्सारीले अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै आफुले हाल संक्रमितहरुको उपचारकालागी ५ सय ४ बेडको दुई वटा कोभिड अस्पताल तयार पारेको बताउनुभयो ।
‘वीरगंज र काठमाडौंको अवस्था ठिक छैन, दिनप्रतिदिन सक्रमितको संख्या बढ्दै गएको छ, उपचार नपाएर कतिपयको मृत्यु पनि भइरहेको खबरहरु आइरहेका छन्,’ उनले भने, ‘त्यसकारण वीरगंज १६ नगवामा रहेको बाबा होटलमा २० शैय्या तथा ३० अटेच क्याबिनसहितको १७० शैय्याको कोभिड अस्पताल बनाएका छौं, काठमाडौं घटेकुलोमा निर्मित काठमाडौं नेशनल मेडिकल कलेजको भवनमा ३ सय ३४ शैय्याको कोभिड अस्पताल सञ्चालन गर्न तयार भएको छ।’
उनले वीरगंजको बाबा होटलको कोभिड अस्पतालको संकट व्यवस्थापन केन्द्रले भदौ १० गते निर्णय गरी केन्द्रिय संकट व्यवस्थापन समितिमा पठाइसकेको र आउँदो सोमवारदेखि सरकारसँग सम्झौता गरी वीरगंजको कोभिड अस्पताल सञ्चालनमा आइसक्ने बताए ।