वीरगंज, माघ २५
वीरगंजमा सम्पन्न प्रथम गिरिजा प्रसाद कोईराला गोल्डकप फुटबल प्रतियोगिताको उपाधी सप्तरीले चुमेको छ । शुन्यका विरुद्ध २ गोलले बारालाई हराउँदै सप्तरीले उपाधी चुमेको हो ।

माघ १८ गते देखि शुरु भएको प्रतियोगितामा प्रदेश नम्बर २ का आठ वटा जिल्ला फुटबल संघका टिमले भाग लिएका थिए । प्रतियोगिताको उपाधी विजेता सप्तरी फुटवल संघको टिमले १ लाख ५१ हजार नगद पुरस्कार सहित शील्ड प्राप्त गरेको छ भने उपविजेता बारा फुटबल संघको टिमले ७५ हजार रुपैयाँ नगद सहित कप र मेडल प्राप्त गरेको छ ।

प्रतियोगिताको फाईनल खेलमा सप्तरीको तर्फबाट ६४ औं मिनेटमा उज्जवल सिंह र ८४ मिनेटमा दिवस श्रेष्ठले गोल गरेका थिए ।
प्रतियोगिताको समापन कार्यक्रम तथा पुरस्कार वितरण समारोहलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सम्बोधन गर्दै खेलको विकासकालागि प्रदेश सरकारले सबै जिल्लामा रंगशाला निर्माण गर्ने नीति लिएको बताउनु भयो ।
उहाँले खेलाडीको सम्मान हुन नसक्दा खेलको व्यवसायिक विकास हुन नसकेको बताउँदै खेलाडीको सम्मानका लागि प्रदेश सरकारले ठोस कार्यक्रम ल्याउने जानकारी दिनुभयो ।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्साका अध्यक्ष महम्मद शहाबुद्दिनको सभापतित्वमा सम्पन्न कार्यक्रममा
नेपाली कांग्रेसका नेता एवं संविधान सभा सदस्य अनिल रुंगटा लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

