वीरगंज, असार १७ । नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई ७ वर्ष पछि नागरिकता दिने गरि बनेको विधेयक विरुद्ध वीरगंजमा नागरिक अभियान पर्साले नागरिकता संशोधन विधेयकको विरोधमा प्रदर्शन गरेको छ ।
नागरिकता विधेयकमा विभेदकारी व्यवस्था कायम गरिएको भन्दै प्रदर्शन गरिएको नागरिक अभियानले जनाएको छ ।
विदेशबाट बिहे गरेर नेपाल ल्याइएकी बुहारीलाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता प्रदान गरिने तर नेपाली युवतीसँग विहे गरेर नेपालमै बस्न चाहने युवकको लागि व्यवस्था नभएको भन्दै विरोध प्रदर्शन गरिएको छ ।
प्रदर्शनमा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी, नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, जनता समाजवादी पार्टी पर्साका अध्यक्ष राजेशमान सिंह, पार्टीका केन्द्रीय नेता शशिकपूर मियाँ, सीपू तिवारी, निजामुद्दीन समानी, संतोष तिवारी, मुकेश द्विवेदी, नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, विद्यार्थी नेता मनोज साह, बैकुण्ठ श्रीवास्तव, नागरिक समाजका अगुवा डा. दिपक शाक्य, विन्ध्वासिनी गाउँपालिकाकी उपमेयर किरण गुप्ता सहितको उल्लेख्य सहभागिता रहेको थियो ।
विरोध कार्यक्रमलाई सम्बोधन गर्दै सहभागि नेताहरुले ओली सरकारले नागरिकता संशोधन विधेयक फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन जारी नै रहने र आन्दोलनले थप कडा रुप लिने चेतावनी समेत दिएका थिए ।
![](/uploads/shares/Birgunj Metropolitan City Notice New.jpg)