काठमाडौँ । भिजिट भिसामा विदेश पठाउँदा फर्जी कागजातलाई आधार मानेर ‘सेटिङ’ गरेको घटनाबारे प्रहरीले अनुसन्धान गरेको डेढ वर्षमा फेरि सेटिङ मौलाउन थालेको भेटिएको छ ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले भिजिट भिसामा विदेश पठाउँदा ‘कोड वर्ड’ का आधारमा रकम उठाइरहेका पाइएको हो ।
यूएई र कुवेत जाने महिलाहरूलाई त्यहाँका कर्मचारीले ‘एल’ र पुरुषलाई ‘एस’ कोड दिएका छन् ।
कर्मचारीसँगको साँठगाँठमा बिचौलियाहरूले त्रिभुवन विमानस्थलबाट महिलाहरूलाई यूएई र त्यहाँबाट कुवेत पठाउने गरेका यसअघि नै समाचारहरू बाहिरिएका थिए । कुवेत पुगेका महिलाहरूले त्यहाँ घरेलु कामदारका रूपमा बस्ने र थप पीडित भएर फर्किनुपरेको प्रहरीले यसअघि गरेको अनुसन्धानबाट खुलेको थियो ।
बिचौलियाहरूसँग मिलेर अध्यागमनका कर्मचारीले त्यसरी खाडीमा जाने प्रतिमहिला कम्तीमा ४० हजार र पुरुषसँग २० हजार असुल्ने गरेका हुन् ।
पछिल्लो समय भिजिट भिसा खाडीमा गएका ४७ महिला फर्केका छैनन् । यसरी जानेहरूको रेकर्ड राख्ने गरिएको तर, फर्किनेहरूको यकिन विवरण नराखिएको अध्यागमन विभागका निर्देशक तथा सूचना अधिकारी टीकाराम ढकालले बताए ।
‘फर्किनेहरूको विवरणचाहिँ संख्यामा मात्र हुन्छ, जो मान्छे गएको थियो, उसैलाई ट्रयाक गरेर विवरण राख्ने प्रणालीचाहिँ हामीसँग छैन ।’
अध्यागमन विभागसँग सन् २०२४ मा विमानस्थलबाट विदेश गएकाहरूको एकीकृत तथ्यांक मात्र छ । २०२४ मा भ्रमण र तीर्थयात्रामा नेपालबाट पुरुष १ लाख ५९ हजार ४३ जना र महिला १ लाख १५ हजार ३५६ जना विदेश गएका थिए ।
भ्रमण र तीर्थयात्रा गर्न निस्किएकामध्ये कति फर्किए भन्ने विवरण विभागले अझै संकलन गर्दै छ । निर्देशक ढकाल भन्छन्, ‘२०२४ मा जानेहरूको एकीकृत डाटा तयार भएको छ, फर्किनेहरूको संकलन हुँदै छ ।’
२०८१ चैत ३१ मा अध्यागमनका केही कर्मचारीको ह्वाट्स एपमा एउटा सूचना ‘सर्कुलर’ गरियो । लेखिएको थियो, ‘आइतबारदेखि भिजिट भिसामा जाने एलहरूको हकमा प्रस्थान अनुमति नदिइने भएकोले सोहीबमोजिम गर्न/गराउन जानकारी गराइन्छ ।’
त्यस्ता सूचना वेला वेलामा परिवर्तन भएर सर्कुलर हुने गरेको विमानस्थलका एक अधिकृतले बताए ।
२०८० मंसिरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा अध्यागमन अधिकृत नरबिर खड्कासहित ९ जना अध्यागमन अधिकृतलाई मुद्दा चलाएको थियो । उनीहरूले सफाइ पाएपछि विमानस्थलमा फेरि ‘सेटिङ’ सुरु भएको हो ।
सफाइ पाउनेमा अधिकृतहरू विमल पौडेल, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विष्णु अर्याल, विकाश डंगोल, पिताम्बर रिमाल र सुजन फागो छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा रहँदा उनीहरूले भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर आर्थिक लाभ लिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा १२८ जना अधिकृत कार्यरत छन् ।
६ बुँदे निर्देशन ‘बेकामे’
गृहमन्त्रीस्तरीय निर्णय गरेर विभागले २०८० माघ १० बाट भिजिट तथा पर्यटक भिसामा विदेश जानेहरूका लागि ६ बुँदे निर्देशन लागु गरेको थियो । तर बिचौलियासँग मिलेर अध्यागमनका कर्मचारीहरूले सो निर्देशनलाई ‘बेकामे’ बनाएको आरोप छ ।
भिजिट भिसामा जानेहरूका लागी दुईतर्फी हवाई टिकट र ५ सय डलर बराबरको नगद सटही गरेको छाप लगाउनुपर्ने नियम छ । तर कर्मचारीहरूले बिचौलियाहरूसँग मिलेर एकतर्फ टिकट र डलर साटेको ‘फर्जी छाप’ लगाएर यात्रा अनुमति दिने गरेका विमानस्थमै कार्यरत कर्मचारीहरू बताउँछन् ।
यसअघि मानव बेचबिखन ब्युरोबाट भिजिट भिसामा हुने बदमासी नियन्त्रण गर्न प्रहरी खटाउने गरिएको थियो । तर विमानस्थल अध्यागमन कार्यालयका प्रमुखको सक्रियतामा ब्युरोका प्रहरी फिर्ता भएका छन् ।
त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका कर्मचारीले पनि भिजिट भिसामा हुने चलखेल निगरानी गर्न नपाएपछि ‘सेटिङ’ मौलाउन थालेको त्यहीँका कर्मचारीहरू बताउँछन् ।
_jwhy3fz6is.jpg)
_pCHj1yA6Ll.jpg)