वीरगंज, माघ २६ ।
वीरगन्जको प्रभु अस्पताल तथा रिसर्च सेन्टरले स्वास्थ्य शिविरको बहानामा गत पुस ८ मा कलैया उपमहानगरपालिका–४ की अमृता श्रेष्ठ र पचरौता नगरपालिका–१ पिपरपातीकी सुनीतादेवी ठाकुरको अस्पतालकी संचालिका एव. वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. लक्ष्मी थापा गुप्ताको लापरवाहीका कारण भएको मृत्युको घटनालाई चोख्याउने प्रयास गर्न खोजेको मृतकका आफन्तहरुले आरोप लगाएका छन् ।
गत माघ २४ गते प्रभु अस्पताल तथा रिसर्च सेन्टरले आगामी फागुन ४ देखि ९ सम्म स्वास्थ्य शिविर संचालन गर्ने बारे जानकारी गराउने बहानामा पत्रकार सम्मेलनको आयोजना गरि गत पुसमा बच्चा डेलिभरीको समयमा गर्भवतीको मृत्यु भएको घटनामा डाक्टर र अस्पताल प्रशासनको लापरवाही नभएको मेडिकल काउन्सिलले प्रमाणित गरेको बताउँदै अस्पतालकी संचालिका एव. स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. लक्ष्मी थापा गुप्ताले आम जनतामा भ्रम सिर्जना गर्न खोजेकोप्रति मृतकका आफन्तहरुले आक्रोस व्यक्त गरेका छन् ।
यता अस्पतालमा एकैदिन शल्यक्रिया गरिएका दुई सुत्केरीको मृत्यु सम्बन्धी घटनामा मेडिकल काउन्सिलले अनुसन्धान सुरु गरेको छ । गत पुस ८ मा अमृता श्रेष्ठ र सुनीतादेवी ठाकुरको शल्यक्रिया गरी बच्चा निकालिएपछि मृत्यु भएको थियो ।
पीडित पक्षले चिकित्सकको लापरवाहीले घटना भएको आरोप लगाएका थिए । अस्पताल व्यवस्थापनले पुस १० मा नेपाल मेडिकल काउन्सिललाई पत्राचार गरी छानबिन गरिदिन माग गरेको थियो ।
गत शुक्रबार काउन्सिलबाट आएको दुई सदस्यीय टोली घटना बारे जाँचबुझ गरेर फर्किएको जानकारी प्राप्त भएको छ ।
मृतकका परिवारले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा समेत जाहेरी दिएका छन् उक्त जाहेरी स्वास्थ्य मन्त्रालय पठाइएको प्रहरी प्रवक्ता वीरेन्द्र शाहीले बताए ।
महान्यायाधिवक्ता कार्यालय, उपभोक्ता मञ्च, प्रहरी, नेपाल मेडिकल काउन्सिल, स्वास्थ्य मन्त्रालय सम्मिलित टोलीले अध्ययन गरेपछि मुद्दा सरकारी वकिल कार्यालयमा जाने उनको भनाइ छ ।
अमृताको पुस ८ गते राति २ बजेर एक मिनेटमा शल्यक्रिया गरिएको थियो । उनले साढे ३ किलो तौलको छोरा जन्माएकी थिइन् । भोलिपल्ट बिहान ११ बजेसम्म उनको स्वास्थ्य ठीक भए पनि पेट पोल्न थालेपछि भेन्टिलेटरमा राखिएको परिवारको भनाइ छ । साँझ उनको मृत्यु भयो । सुनीतादेवीको पनि शल्यक्रिया गरी राति करिब साढे ९ बजे बच्चा निकालिएको थियो ।
भोलिपल्ट सिकिस्त भएपछि उनीलाई चितवनको पुरानो मेडिकल कलेज रिफर गरियो । १० गते उनले ज्यान गुमाइन ।
पुस १५ मा परिवारले आयोजना गरेको पत्रकार सम्मेलनमा अमृताका श्रीमान् मनमोहन साहले गर्भवती भएको सुरुआती चरणदेखि नै डा. लक्ष्मी थापा गुप्तासँग जाँच गराउँदै आएको बताएका थिए । ‘चिकित्सकले बच्चाको टाउको माथि रहेको बताएका थिए,’ साहले भने, ‘उनीहरूले शल्यक्रिया गर्नुपर्ने सुझाएका थिए ।’ ९ गते बिहानै छोरा जन्मेपछि पनि आमाछोराको स्वास्थ्य सामान्य रहेको मनमोहनले बताए ।
दिउँसो अमृताको पिसाब रोकिएको चिकित्सकले जनाए पनि वार्डमा लैजाने बेला उनलाई भेन्टिलेटरमा राखिएको थियो । अस्पतालले साँझ ७ बजेर १३ मिनेटमा मृत घोषणा र्गयो । त्यस्तै सुनीतादेवीका जेठाजु साहेब ठाकुरले अस्पतालले रिफर गर्दा ‘डिस्चार्ज समरी’ नदिएको बताए । ‘चितवन पुग्दा त्यहाँका चिकित्सकलाई उपचार गर्नै गाह्रो परेको थियो,’ उनले भने, ‘सामान्य गेटपासको भरमा प्रभु अस्पतालले डिस्चार्ज गरिदिएको थियो ।