वीरगञ्ज - वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले लायन्स क्लब अफ वीरगञ्ज नवदीप एकेडेमीले आज वीरगञ्जस्थित भिष्वा डाँडामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विभिन्न प्रजातिका २०० भन्दा बढी बिरुवा रोपिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट गभर्नर लायन राम बिहारी पाण्डेले वातावरण संरक्षण, प्राकृतिक सम्पदाको जगेर्ना तथा हरियाली प्रवर्द्धनका लागि वृक्षारोपण महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले बिरुवा रोप्नु मात्र पर्याप्त नभई रोपिएका बिरुवाको नियमित स्याहारसम्भार र संरक्षणमा समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
वातावरण संरक्षणका लागि यस्ता सामाजिक कार्यले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै भावी पुस्ताका लागि स्वच्छ र स्वस्थ वातावरण निर्माणमा सहयोग पुग्ने उहाँको भनाइ थियो।
त्यसैगरी, कार्यक्रमका विशिष्ट अतिथि तथा लायन्स इन्टरनेशनलका पास्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन डा. रमेश अग्रवालले विश्वभर बढ्दै गएको वातावरणीय प्रदूषण र जलवायु परिवर्तनका चुनौतीबीच वृक्षारोपण तथा बिरुवाको संरक्षणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।
लायन्स क्लब अफ वीरगञ्ज नवदीप एकेडेमीले प्रकृति संरक्षण, वातावरणीय सन्तुलन कायम तथा स्थानीय क्षेत्रमा हरियाली विस्तार गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रमले वातावरण संरक्षणप्रतिको सामाजिक उत्तरदायित्व निर्वाह गर्ने सन्देश दिएको उहाँले उल्लेख गर्नुभयो। भिष्वा डाँडामा रोपिएका बिरुवाको उचित स्याहारसम्भार र संरक्षण गर्न सके यस क्षेत्रको प्राकृतिक सौन्दर्य अभिवृद्धि हुनुका साथै वातावरणीय सन्तुलन कायम राख्न दीर्घकालीन योगदान पुग्ने उहाँको भनाइ थियो।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसकी जोन चेयरपर्सन एवं क्लबकी चार्टर प्रेसिडेन्ट लायन सुशिला साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी लायन बासु तिमिल्सिना, डिष्ट्रिक्ट पी.आर.ओ. इन चिफ लायन विजय कुशवाहा, एरिया चिफ लायन सुनिल गुप्तालगायत क्लबका पदाधिकारी तथा लायन्स सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम मार्फत भिष्वा डाँडाको हरियाली विस्तार, प्राकृतिक सौन्दर्यको संरक्षण तथा वातावरणीय सन्तुलन कायम राख्ने अभियानमा योगदान पुर्याउने लक्ष्य लिइएको छ।