वीरगंज - वीरगंज महानगरपालिकाको आगामी निर्वाचनमा नेपाली कांग्रेसबाट मेयर पदका लागि विभिन्न नेताहरूले आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका बेला पूर्वमन्त्री ओमप्रकाश शर्माको सम्भावित उम्मेदवारीले पार्टीभित्र नयाँ राजनीतिक बहस सिर्जना गर्ने देखिएको छ।
चौक-चौतारादेखि राजनीतिक वृत्तसम्म मेयरको टिकट कसले पाउने भन्ने चर्चा चलिरहेका बेला शर्मा भने ‘जोरका झट्का धीरे से’ शैलीमा आफ्नो राजनीतिक तयारी अघि बढाइरहेका छन्। सार्वजनिक रूपमा ठूलो प्रचारप्रसार नगरे पनि छठ पर्वपछि आफ्नो चुनावी रणनीति तय गर्ने तयारीमा उनी रहेको बताइएको छ।
यसैबीच, शर्माले नेपाली कांग्रेसका तर्फबाट वीरगंज महानगरपालिकाको मेयर पदमा आफू पनि आकांक्षी रहेको स्पष्ट पारेका छन्। यस विषयमा प्रतिक्रिया दिँदै उनले पार्टीले आफूलाई विश्वास गरेर मेयरको टिकट दिएमा पूर्ण तयारीका साथ निर्वाचनमा होमिने बताए। उनको यो अभिव्यक्तिसँगै अहिलेसम्म चर्चामा सीमित रहेको सम्भावित उम्मेदवारीले औपचारिक दाबेदारीको रूप लिएको छ। तर शर्माको उम्मेदवारी चर्चासँगै एउटा महत्त्वपूर्ण राजनीतिक प्रश्न पनि उठ्न थालेको छ– समानुपातिक निर्वाचन प्रणालीबाट पटक-पटक संसदीय अवसर र मन्त्री पदसमेत प्राप्त गरिसकेका शर्माले अब प्रत्यक्ष निर्वाचनमार्फत जनताको मत परीक्षण गर्न खोजेका हुन् ? शर्माको राजनीतिक यात्राको एउटा उल्लेखनीय पक्ष के छ भने उनी अहिलेसम्म प्रत्यक्ष निर्वाचन लडेर निर्वाचित भएका छैनन्। उनी संविधानसभा सदस्य र त्यसपछि मधेस प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्य बनेका थिए। प्रदेशसभा सदस्यकै हैसियतमा उनले मधेस प्रदेश सरकारमा खानेपानी तथा ऊर्जा विकासमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए। अर्थात्, समानुपातिक निर्वाचन प्रणालीमार्फत संघीय र प्रदेश तहमा संसदीय अवसर प्राप्त गरिसकेका शर्मा अब वीरगंज महानगरको मेयर बन्ने आकांक्षासहित प्रत्यक्ष निर्वाचनको मैदानमा उत्रिने तयारीमा देखिएका छन्। यसका अतिरिक्त, शर्मा वीरगंज उद्योग वाणिज्य संघको अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका व्यक्ति हुन्। उद्योगी-व्यवसायीहरूको साझा संस्थाको नेतृत्व गरिसकेको अनुभव, संघीय तथा प्रदेश संसद्को समानुपातिक प्रतिनिधित्व र मधेस प्रदेश सरकारमा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका शर्मा अहिले वीरगंज महानगरको नेतृत्व गर्ने आकांक्षासहित अघि बढेका छन्।
शर्माको उम्मेदवारीले नेपाली कांग्रेसभित्र उम्मेदवारी छनोटको मापदण्ड, स्थानीय जनाधार, संगठनमा योगदान र प्रत्यक्ष निर्वाचनको अनुभवलाई लिएर नयाँ बहस सिर्जना गर्न सक्ने देखिन्छ। लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहेका तथा प्रत्यक्ष निर्वाचनको अनुभवसमेत भएका अन्य आकांक्षीहरूका बीचमा शर्माको दाबेदारीले पार्टीभित्रको आन्तरिक समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ।
वीरगंज महानगरपालिकाको मेयर पद नेपाली कांग्रेसका लागि राजनीतिक प्रतिष्ठासँग जोडिएको विषय हो। यस्तो अवस्थामा उम्मेदवार छनोट गर्दा पार्टीले स्थानीय स्तरमा गरेको योगदान, जनतासँगको सम्बन्ध, संगठनात्मक पकड, चुनावी अनुभव र राजनीतिक स्वीकार्यतालाई कसरी मूल्यांकन गर्छ भन्ने प्रश्न महत्त्वपूर्ण बन्नेछ।
शर्माका लागि मन्त्री भइसकेको अनुभव राजनीतिक पुँजी हुन सक्छ, तर प्रत्यक्ष निर्वाचनमा अहिलेसम्म प्रतिस्पर्धा नगरेको पृष्ठभूमि उनका लागि नयाँ राजनीतिक चुनौतीसमेत बन्न सक्छ। अर्कोतर्फ, मेयर पदका आकांक्षी कांग्रेसका अन्य नेताहरूले पनि आफ्नो राजनीतिक योगदान र स्थानीय जनाधारका आधारमा दाबेदारी प्रस्तुत गरिरहेका छन्। यस्तो अवस्थामा शर्माको उम्मेदवारीले पार्टीभित्रको टिकट वितरणको प्रतिस्पर्धालाई थप रोचक बनाउने देखिन्छ।
छठ पर्वपछि शर्मा सक्रिय रूपमा चुनावी तयारीमा उत्रिन्छन् वा पार्टीभित्रको आन्तरिक समीकरणअनुसार आफ्नो रणनीति परिवर्तन गर्छन् भन्ने विषय चासोको विषय बनेको छ।
समानुपातिक निर्वाचन प्रणालीबाट सांसद र मन्त्रीसम्मको जिम्मेवारी सम्हालिसकेका ओमप्रकाश शर्मा अब प्रत्यक्ष जनमतको परीक्षामा उत्रिने तयारीमा छन्। पार्टीले उनलाई विश्वास गरेर टिकट देला वा अन्य आकांक्षीमध्येबाट उम्मेदवार छनोट गर्ला ? वीरगंजको राजनीतिक वृत्तमा अहिले यिनै प्रश्नले चर्चा पाउन थालेका छन्।