वीरगञ्ज - नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री उमाकान्त चौधरीले मधेशका राजनीतिक, सामाजिक तथा आर्थिक मुद्दालाई राष्ट्रिय राजनीतिको केन्द्रमा स्थापित गर्दै वडा तहदेखि पार्टी संगठन सुदृढ बनाउनुपर्ने बताएका छन्। उनले मधेशका जनताको अपेक्षा सम्बोधन गर्न कांग्रेसले संगठनात्मक एकता र जनतासँगको सम्बन्धलाई थप बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्सा क्षेत्र नं. १ र २ को क्षेत्रीय तथा नगर अधिवेशनलाई सम्बोधन गर्दै चौधरीले पार्टी संगठनलाई वडा तहदेखि सुदृढ बनाउनुपर्ने बताएका थिए। मधेशका जनताको समस्या र अपेक्षालाई राष्ट्रिय राजनीतिमा प्रभावकारी रूपमा उठाउनुपर्ने उनको भनाइ थियो।
उनले पार्टीभित्रको एकता, लोकतान्त्रिक संस्कार र कार्यकर्ताको सक्रियता संगठन सुदृढीकरणका आधार भएको उल्लेख गर्दै मधेशका राजनीतिक, सामाजिक तथा आर्थिक मुद्दालाई राष्ट्रिय राजनीतिको प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका थिए।
नेपाली कांग्रेस पर्साका संयोजक विजय कर्णको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादव, पूर्वसांसद शम्भु हजरा, लक्ष्मीनाथ नेपाल, शम्भु चौहान, रोशन लामिछाने, डा. कृपासिन्धु चौधरी, उत्तमा प्याकुरेल, मनोज यादव, बैकुण्ठ श्रीवास्तव, मनोहर साहलगायतका नेताहरूको सहभागिता थियो।
अधिवेशनकै अवसरमा वीरगञ्ज महानगर, क्षेत्रीय तथा प्रदेशसभा क्षेत्र र बहुदरमाई नगरका सभापतिहरूको घोषणा गरिएको छ। वीरगञ्ज महानगर सभापतिमा मनोज कुमार साह र सचिवमा आदित्य उपाध्याय चयन भएका छन्।
त्यस्तै, क्षेत्र नं. १ को सभापतिमा हरिन्द्र प्रसाद यादव, प्रदेशसभा क्षेत्र (क) मा पुरुषोत्तम कुमार पटेल र (ख) मा दीपेन्द्र साह कानु चयन भएका छन्।
क्षेत्र नं. २ को सभापतिमा सञ्जय कुमार चतुर्वेदी, प्रदेशसभा क्षेत्र (क) मा सन्दीप कुमार साह तेली र (ख) मा विकास उपाध्याय तथा बहुदरमाई नगर सभापतिमा प्रकाश रौनियार घोषणा भएका छन्।