वीरगञ्ज - नेपाली कांग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले लोकतन्त्र, संविधान र राष्ट्रिय एकताको रक्षाका लागि कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्सा क्षेत्र नं. १ र २ को क्षेत्रीय तथा नगर अधिवेशनलाई सम्बोधन गर्दै निधिले पार्टीको ऐतिहासिक विरासत जोगाउँदै संगठनात्मक एकता सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।
कांग्रेसको शक्ति निर्वाचनमा प्राप्त मत र संसदीय उपस्थितिमा मात्र नभई जनतासँगको सम्बन्ध, लोकतान्त्रिक संस्कार र कार्यकर्ताको समर्पणमा निहित रहेको उनको भनाइ थियो। उनले नयाँ पुस्ताको ऊर्जा, पुरानो पुस्ताको अनुभव र जनताको अपेक्षालाई समेटेर पार्टीलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने बताए। पार्टीभित्रको मतभिन्नतालाई गुटबन्दी र विभाजनको आधार बनाउन नहुने भन्दै उनले लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गरी संगठनलाई एकताबद्ध बनाउनुपर्ने धारणा राखेका थिए।
कार्यक्रमका विशिष्ट अतिथि नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री उमाकान्त चौधरीले वडा तहदेखि संगठन सुदृढ बनाउनुपर्ने बताउँदै मधेशका राजनीतिक, सामाजिक तथा आर्थिक मुद्दालाई राष्ट्रिय राजनीतिको केन्द्रमा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए।
नेपाली कांग्रेस पर्साका संयोजक विजय कर्णको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादव, पूर्वसांसद शम्भु हजरा, लक्ष्मीनाथ नेपाल, शम्भु चौहान, रोशन लामिछाने, डा. कृपासिन्धु चौधरी, उत्तमा प्याकुरेल, मनोज यादव, बैकुण्ठ श्रीवास्तव, मनोहर साहलगायतका नेताहरूको सहभागिता थियो।
अधिवेशनकै अवसरमा वीरगञ्ज महानगर, क्षेत्रीय तथा प्रदेशसभा क्षेत्र र बहुदरमाई नगरका सभापतिहरूको घोषणा गरिएको छ। वीरगञ्ज महानगर सभापतिमा मनोज कुमार साह र सचिवमा आदित्य उपाध्याय चयन भएका छन्।
त्यस्तै, क्षेत्र नं. १ को सभापतिमा हरिन्द्र प्रसाद यादव, प्रदेशसभा क्षेत्र (क) मा पुरुषोत्तम कुमार पटेल र (ख) मा दीपेन्द्र साह कानु चयन भएका छन्। क्षेत्र नं. २ को सभापतिमा सञ्जय कुमार चतुर्वेदी, प्रदेशसभा क्षेत्र (क) मा सन्दीप कुमार साह तेली र (ख) मा विकास उपाध्याय तथा बहुदरमाई नगर सभापतिमा प्रकाश रौनियार घोषणा भएका छन्।