वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको प्रमुख आतिथ्यतामा गुडविल सोसाइटीद्वारा आज वीरगञ्जमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रगतको अभावलाई कम गर्ने र मानवीय सेवामा योगदान पुर्याउने पवित्र उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा सयौंको संख्यामा रक्तदाताहरूले उत्साहपूर्वक रक्तदान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले रक्तदान जस्तो महान् कार्यमा सहभागी भएका सम्पूर्ण रक्तदाताहरूलाई सम्मान गर्दै प्रमाणपत्र वितरण गर्नुभएको थियो । सो अवसरमा उहाँले मानव जीवन बचाउने यस्ता सामाजिक कार्यहरूमा समाजका हरेक वर्गको अग्रसरता आवश्यक रहेको बताउनुभयो ।
उक्त रक्तदान कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष महमद रेयाज मियाँ तेली, वडा सदस्य बासिर मियाँ हजाम लगायत उल्लेख्य रूपमा स्थानीय युवाहरूको बाक्लो र सक्रिय सहभागिता रहेको थियो । युवा वर्गको स्वतःस्फूर्त सहभागिताले कार्यक्रमलाई थप ऊर्जावान बनाएको थियो ।
स्थानीय स्तरमा रगतको अभाव हुन नदिन गुडविल सोसाइटीले खेलेको यस मानवीय भूमिकाको कार्यक्रममा उपस्थित अतिथि तथा स्थानीय बासिन्दाहरूले उच्च प्रशंसा गरेका थिए ।