वीरगञ्ज, असार १६ । बालबालिका तथा सर्वसाधारणको मनोरञ्जनका लागि निर्माण गरिएको सार्वजनिक पार्कभित्रै अवैध रूपमा हुक्का तथा सुर्तीजन्य पदार्थको कारोबार भइरहेको खुलासा भएपछि वीरगञ्ज महानगरपालिकाले आकस्मिक छापा मारी ठूलो परिमाणमा सामग्री बरामद गरेको छ।
कार्यवाहक नगरप्रमुख इम्तियाज आलम को विशेष निर्देशनमा बुधबार महानगरपालिकाको अनुगमन टोलीले वीरगञ्ज वडा नं. ४ स्थित चिल्ड्रेन पार्क (शङ्खधर साख्वा पार्क) भित्र सञ्चालित 'दिपाज क्याफेमा छापा मारेको हो।
कार्यवाहक नगरप्रमुख आलमको अग्रसरतामा नगर प्रहरी, महानगरको अनुगमन टोली तथा स्थानीय साक्षीहरूको रोहवरमा होटलको स्टोरमा खानतलासी गर्दा लुकाइ राखिएको अवस्थामा ४६ प्याकेट सूर्य चुरोट, ७० प्याकेट शिखर चुरोट, ८ थान हुक्का स्ट्यान्ड तथा विभिन्न फ्लेभरका हुक्का तथा सुर्तीजन्य पदार्थका १७ प्याकेट बरामद गरिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ। बरामद गरिएका सबै सामग्री नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
चिल्ड्रेन पार्कभित्रै यस्ता अवैध सामग्री फेला परेपछि कार्यवाहक नगरप्रमुख आलमले गम्भीर चासो व्यक्त गर्दै चिल्ड्रेन पार्कजस्तो संवेदनशील क्षेत्रमा हुक्का तथा सुर्तीजन्य पदार्थको कारोबार हुनु अत्यन्त निन्दनीय र अस्वीकार्य भएको बताउनुभयो।
उहाँले बालबालिकाको स्वास्थ्य र भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको सार्वजनिक स्थलमा यस्ता गतिविधि सञ्चालन गर्नु गम्भीर लापरबाही भएको उल्लेख गर्दै बालबालिकाको स्वास्थ्यमाथि खेलबाड गर्ने कुनै पनि व्यक्ति वा व्यवसायलाई प्रचलित कानुनबमोजिम हदैसम्मको कारबाही गरिने स्पष्ट पार्नुभयो।
अनुगमन टोलीका अनुसार उक्त व्यवसायको दर्ता तथा नवीकरणको अवस्था भने वैधानिक रहेको पाइए पनि सार्वजनिक पार्क क्षेत्रभित्र प्रतिबन्धित हुक्का तथा सुर्तीजन्य पदार्थ भण्डारण र बिक्री–वितरण गरेको पुष्टि भएपछि कानुनी कारबाहीको दायरामा ल्याइएको हो।
वीरगञ्ज महानगरपालिकाले आगामी दिनमा पनि पार्क, विद्यालय तथा अन्य सार्वजनिक स्थल वरपर हुने यस्ता गैरकानुनी गतिविधिविरुद्ध बजार अनुगमनलाई अझ प्रभावकारी, तीव्र र कडाइका साथ सञ्चालन गर्ने जनाएको छ। महानगरले सार्वजनिक स्थललाई सुरक्षित, स्वच्छ र बालमैत्री बनाउन यस्ता अनुगमनलाई निरन्तरता दिइने प्रतिबद्धता समेत व्यक्त गरेको छ।