वीरगंज - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा वीरगंज महानगरपालिकाका प्रथम मेयर विजयकुमार सरावगीको प्रवेशसँगै आगामी निर्वाचनमा उनले नै टिकट पाउने सम्भावना बढेको छ। पार्टीभित्र टिकटका लागि तीव्र प्रतिस्पर्धा र रसाकस्सी चले पनि सरावगीलाई प्रमुख दाबेदारको रूपमा हेरिन थालिएको छ।
आधिकारिक रूपमा टिकटको अन्तिम टुंगो लाग्न बाँकी रहे पनि वीरगंजवासीहरूमाझ सरावगी नै रास्वपाको तर्फबाट चुनावी मैदानमा उत्रिने लख काट्न थालिएको छ।
स्थानीयस्तरमा बलियो पकड भएका पूर्वमेयर सरावगीको सम्भावित उम्मेदवारीलाई लिएर चियापसलदेखि राजनीतिक वृत्तसम्म चौतर्फी चर्चा र बहस चुलिएको छ।
पुराना राजनीतिक दलहरूप्रतिको असन्तुष्टि र रास्वपाप्रतिको बढ्दो आकर्षणका बीच सरावगीको यो कदमले वीरगंज महानगरको चुनावी समीकरण चाखलाग्दो मोडमा पुग्ने अनुमान गरिएको छ।