वीरगञ्ज - नेपालीहरूको महान् चाड शुभ दीपावलीको अवसरमा लायन्स क्लबहरूको संयुक्त आयोजनामा आज वीरगञ्जस्थित गहवा माई मन्दिर क्षेत्रमा निःशुल्क मैनबत्ती वितरण कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी, लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटी, लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटी र लायन्स क्लब अफ वीरगञ्ज विजयपथको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा मन्दिर क्षेत्रमा उपस्थित श्रद्धालु तथा स्थानीयवासीलाई मैनबत्ती वितरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका पूर्व डिष्ट्रिक्ट गभर्नर लायन डि.एन. अग्रवालले दीपावलीको शुभकामना व्यक्त गर्दै यस्ता सामाजिक तथा सेवामूलक कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउँदै दीपावली पर्व उज्यालो, आशा, सद्भाव र समृद्धिको प्रतीक भएको उल्लेख गर्दै चाडपर्वको खुसी सबैसँग बाँड्नुपर्ने धारणा व्यक्त गरेका थिए। यस धार्मिक तथा सांस्कृतिक अवसरमा लायन्स क्लबद्वारा सामाजिक सेवामार्फत समुदायसँग जोडिने कार्य सराहनीय रहेको उनको भनाइ रहेको थियो।
त्यसैगरी, कार्यक्रमकी विशिष्ट अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसकी डिष्ट्रिक्ट एक्ज्यूकेटिभ चिफ लायन आश्मा सिंह यादवले दीपावलीको अवसरमा मैनबत्ती वितरण गर्नुको उद्देश्य चाडपर्वको खुसी साझा गर्नुका साथै आपसी सद्भाव, सहयोग र सामाजिक एकताको भावना अभिवृद्धि गर्नु रहेको बताएकी थिइन्।
लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीकी अध्यक्ष लायन ईन्दु गोयलको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट एक्ज्यूकेटिभ चिफ लायन उमेश साह कानु, डिष्ट्रिक्ट एक्ज्यूकेटिभ चिफ तथा पी.आर.ओ. इन चिफ लायन विजय कुशवाहा, एरिया चिफ लायन सुनिल गुप्ता, जोन चेयरपर्सन लायन पिंकी साह, लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीकी अध्यक्ष लायन देवेन्ती साह, लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीकी उपाध्यक्ष लायन कुसुम वर्णवाल, कोषाध्यक्ष लायन रूपशिला जैसवाल लगायत लायन्स क्लबका पदाधिकारी, सदस्य तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।