वीरगंज - विश्वकै अग्रणी सामाजिक संस्था लायन्स इन्टरनेसनलमा नेपालको प्रभावकारी प्रतिनिधित्व स्थापित गर्ने लक्ष्यसहित लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एसका पुर्व डिष्ट्रिक्ट गभर्नर एवं प्रतिष्ठित लायन लिडर पीएमजेएफ लायन देवकी नन्दन (डी.एन.) अग्रवालले इन्टरनेसनल डाइरेक्टर (International Director) पदमा उम्मेदवारी दिने तयारी तीव्र पार्नुभएको छ।
लायन्स आन्दोलनमा सन् १९८६ देखि निरन्तर सक्रिय रहँदै आउनुभएका अग्रवाल सामाजिक सेवा, संस्थागत विकास, मानवीय सहयोग तथा संगठनात्मक नेतृत्वका क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका अनुभवी लायन व्यक्तित्व हुनुहुन्छ। उनको सम्भावित उम्मेदवारीलाई नेपाली लायन्स समुदायको अन्तर्राष्ट्रिय प्रतिनिधित्व र नेतृत्व विस्तारका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।
यसै सन्दर्भमा प्रतिक्रिया दिँदै अग्रवालले आफू लायन्स इन्टरनेसनलको इन्टरनेसनल डाइरेक्टर पदमा उम्मेदवारी दिने तयारीमा रहेको बताउनु भएको छ। अग्रवालले आफ्नो उम्मेदवारीप्रति लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एसका संस्थापक तथा उच्च तहका लायन लिडरहरूबाट पूर्ण समर्थन प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ। नेपाली लायन्स आन्दोलनलाई अन्तर्राष्ट्रिय नेतृत्व तहमा पुर्याउने उद्देश्यसहित आफूले यो पहल अघि बढाएको उनको भनाइ रहेको छ।
डिष्ट्रिक्ट ३२५ एसबाट हालसम्म एक जना मात्रै इन्टरनेसनल डाइरेक्टर
लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एसको इतिहासमा हालसम्म पूर्व डिष्ट्रिक्ट गभर्नर लायन सञ्जय खेतान मात्रै इन्टरनेसनल डाइरेक्टर बन्न सफल हुनुभएको छ। उहाँ पनि वीरगंजकै हुनुहुन्छ। यस पृष्ठभूमिमा अग्रवालको सम्भावित उम्मेदवारीलाई वीरगंज तथा डिष्ट्रिक्ट ३२५ एसका लागि अन्तर्राष्ट्रिय नेतृत्वमा प्रतिनिधित्व विस्तार गर्ने अर्को महत्त्वपूर्ण प्रयासका रूपमा हेरिएको छ। उहाँको यो पहलले वीरगंजको लायन्स आन्दोलनलाई पुनः अन्तर्राष्ट्रिय नेतृत्वसँग जोड्ने अपेक्षा गरिएको छ।
चार दशकको लायन यात्रा, क्लब सचिवदेखि डिष्ट्रिक्ट गभर्नरसम्मको नेतृत्व
करिब चार दशक लामो लायन यात्राका क्रममा क्लबदेखि डिष्ट्रिक्ट तहसम्म विभिन्न महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुभएका अग्रवाल सन् २०२३–२०२४ मा लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एस, नेपालको डिष्ट्रिक्ट गभर्नर पदमा निर्वाचित हुनुभएको थियो।
सन् १९८६ मा लायन्स क्लब अफ वीरगंजमा आबद्ध हुनुभएका अग्रवालले आफ्नो संगठनात्मक यात्रा क्लब सचिवबाट सुरु गर्नुभएको थियो। त्यसपछि तृतीय उपाध्यक्ष, द्वितीय उपाध्यक्ष र प्रथम उपाध्यक्ष हुँदै सन् १९९४–१९९५ मा क्लब अध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभएको थियो।
त्यसैगरी, लायन्स क्लब अफ वीरगंज मिलेनियम एमजेएफको चार्टर्ड सचिव, अध्यक्ष तथा विभिन्न अवधिमा सल्लाहकारका रूपमा समेत उहाँले संगठनको विकास र विस्तारमा योगदान पुर्याउनुभएको छ।
डिष्ट्रिक्ट तहमा डिष्ट्रिक्ट चेयरपर्सन, जोन चेयरपर्सन, रिजन चेयरपर्सन, डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी, एम्बेसडर अफ गभर्नर, सिनियर डिष्ट्रिक्ट एडभाइजर, एलसीआईएफ कोअर्डिनेटर तथा डिष्ट्रिक्ट एक्जुकेटिभ चिफलगायतका विभिन्न जिम्मेवारी उहाँले निर्वाह गरिसक्नुभएको छ। संगठनका विभिन्न तहमा हासिल गर्नुभएको अनुभव र निरन्तर सक्रियता उहाँको अन्तर्राष्ट्रिय नेतृत्व यात्राका महत्त्वपूर्ण आधारका रूपमा रहेका छन्।
सामाजिक सेवा र संगठनात्मक विकासमा सक्रियता
सन् २०२३–२०२४ मा डिष्ट्रिक्ट गभर्नरका रूपमा कार्यरत रहँदा अग्रवालले संगठनात्मक गतिविधि, सामाजिक सेवा तथा सदस्यहरूको सक्रियतालाई प्राथमिकतामा राख्नुभएको थियो।
विपन्न, असहाय तथा आवश्यकतामा रहेका समुदायको हितमा सञ्चालन हुने सेवामूलक गतिविधिप्रति उहाँको निरन्तर चासो र सहभागिता रहँदै आएको छ। सामाजिक सेवामार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउने लायन्स इन्टरनेसनलको मूल उद्देश्यलाई व्यवहारमा उतार्न उहाँले विभिन्न जिम्मेवारीमा रहेर योगदान पुर्याउँदै आउनुभएको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा सक्रिय सहभागिता
अग्रवालले नेपालमा आयोजना भएका विभिन्न डिष्ट्रिक्ट कन्भेन्सन तथा मल्टिपल डिष्ट्रिक्ट कन्भेन्सनहरूमा निरन्तर सहभागिता जनाउँदै आउनुभएको छ।
त्यसैगरी, ISAME Forum तथा अमेरिका, जापान र अष्ट्रेलियामा आयोजित लायन्स इन्टरनेसनलका अन्तर्राष्ट्रिय कन्भेन्सनहरूमा समेत उहाँ सहभागी भइसक्नुभएको छ।
चीन, भारत, सिंगापुर, हङकङ, थाइल्यान्ड, जापान, अष्ट्रेलिया, अमेरिका तथा संयुक्त अरब इमिरेट्स (यूएई) लगायतका देशहरूको भ्रमण गर्नुभएका अग्रवालको अन्तर्राष्ट्रिय अनुभवले विभिन्न देशका लायन लिडरहरूसँग सम्बन्ध विस्तार गर्ने अवसरसमेत प्रदान गरेको छ।
विभिन्न सम्मान तथा अवार्डबाट सम्मानित
लायनवादमा पुर्याउनुभएको योगदान तथा संगठनात्मक जिम्मेवारी निर्वाहका क्रममा अग्रवालले विभिन्न सम्मान तथा अवार्ड प्राप्त गर्नुभएको छ।
उहाँले प्राप्त गर्नुभएका प्रमुख सम्मानमा १०० प्रतिशत प्रेसिडेन्ट अवार्ड, डिष्ट्रिक्ट गभर्नर मेडल अवार्ड तथा इन्टरनेसनल प्रेसिडेन्ट अवार्ड रहेका छन्। यी सम्मानहरूले लायन्स संगठनमा उहाँको लामो समयदेखिको आबद्धता तथा संगठनका विभिन्न तहमा निर्वाह गर्नुभएको जिम्मेवारी र पुर्याउनुभएको योगदानलाई प्रतिबिम्बित गर्दछन्।
वीरगंजबाट अन्तर्राष्ट्रिय नेतृत्वको तयारी
लायन्स क्लब अफ वीरगंज मिलेनियम एमजेएफका वरिष्ठ सदस्य अग्रवालको सामाजिक तथा संगठनात्मक गतिविधिको केन्द्र वीरगंज रहँदै आएको छ। उद्योग तथा व्यवसायसँगै सामाजिक सेवामा समेत सक्रिय उहाँले आफ्नो लामो अनुभव, संगठनात्मक क्षमता र अन्तर्राष्ट्रिय सम्पर्कलाई विश्वव्यापी लायन्स आन्दोलनको नेतृत्वमा उपयोग गर्ने लक्ष्य राख्नुभएको छ।
इन्टरनेसनल डाइरेक्टर पदमा उम्मेदवारी दिने तयारीसँगै उहाँले आगामी निर्वाचनलाई लक्षित गरी चुनावी एजेन्डा निर्माण, संगठनात्मक समन्वय तथा देशभित्र र विदेशमा रहेका लायन लिडरहरूसँगको भेटघाटलाई अगाडि बढाउने तयारी गर्नुभएको छ।
नेपालबाट अन्तर्राष्ट्रिय नेतृत्व तहमा प्रतिनिधित्व गर्ने उद्देश्यसहित अघि बढ्नुभएका अग्रवालको सम्भावित उम्मेदवारीले नेपाली लायन्स समुदायमा नयाँ चासो र चर्चा सिर्जना गरेको छ। लामो संगठनात्मक अनुभव, सामाजिक सेवाप्रतिको प्रतिबद्धता र अन्तर्राष्ट्रिय सहभागितालाई आधार बनाउँदै उहाँले अघि बढाउनुभएको यो पहलले नेपालको लायन्स आन्दोलनलाई विश्वमञ्चमा थप परिचित गराउने लक्ष्य राखेको छ।