वीरगंज - छठ पर्वको अवसरमा लायन्स क्लब अफ वीरगंज पिंक सिटीले ३० विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारलाई साडी र छठ पूजाका सामग्री वितरण गरेको छ।
क्लबले वीरगंज महानगरपालिका - १५, लक्षमनवामा कार्यक्रम आयोजना गरी साडी, नरिवल, सूपलीलगायत पूजाका आवश्यक सामग्री वितरण गरेको हो। आर्थिक अभावका कारण छठ पर्व मनाउन कठिनाइ भोगिरहेका परिवारलाई सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट गभर्नर लायन रामबिहारी पाण्डेले सबैलाई श्रद्धा र भक्तिपूर्वक छठ पर्व मनाउन आग्रह गर्दै यस्ता सेवामूलक कार्यले सामाजिक सद्भाव र सहयोगको भावना बढाउने बताएका थिए।
त्यसैगरी, विशिष्ट अतिथि लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एसका पूर्व डिष्ट्रिक्ट गभर्नर लायन डी.एन. अग्रवालले लायन्स क्लब जाति, धर्म, वर्ग र राजनीतिक भेदभावभन्दा माथि उठेर मानव सेवामा समर्पित संस्था भएको उल्लेख गर्दै विपन्न परिवारलाई गरिएको सहयोगले पर्व मनाउन राहत पुग्ने विश्वास व्यक्त गरेका थिए।
लायन्स क्लब अफ वीरगंज पिंक सिटीकी अध्यक्ष लायन इन्दु गोयलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्ट पी.आर.ओ. ईन चिफ एवं एक्जिक्युटिभ चिफ लायन विजय कुशवाहा, एरिया चिफ लायन सुनील गुप्ता, क्याबिनेट अफिसर लायन प्रेमचन्द्र गोयल, जोन चेयरपर्सन लायन पिंकी साह, क्लबकी उपाध्यक्ष लायन कुसुम वर्णवाल, सचिव ब्युटी जैसवाल, कोषाध्यक्ष लायन रूपशीला जैसवाललगायत क्लबका पदाधिकारी, सदस्य, स्थानीय सहयोगी तथा लाभग्राहीहरूको सहभागिता रहेको थियो।
क्लबले आगामी दिनमा पनि विपन्न तथा आवश्यकतामा रहेका समुदायलाई लक्षित गरी सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।