वीरगंज - महेश्वरी समाज वीरगंजले पवित्र छठ पर्वको अवसरमा पर्साको बिन्दवासिनी गाउँपालिकास्थित केहुनियामा १५० जना छठ व्रतालु महिलाहरूलाई साडी वितरण गरेको छ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर मनाइने तराई-मधेशको महान् पर्व छठको अवसरमा व्रतालु महिलाहरूलाई सहयोग पुर्याउने तथा पर्वको खुसी साटासाट गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महेश्वरी समाज वीरगंजका अध्यक्ष प्रकाश बाहेतीले जानकारी दिए।
अध्यक्ष बाहेतीका अनुसार स्थानीय स्तरमा छठ पर्व मनाउन सहज होस् र समाजका सबै वर्गबीच खुसी तथा सद्भाव बाँड्न सकियोस् भन्ने उद्देश्यले व्रतालु महिलाहरूलाई सम्मानस्वरूप साडी वितरण गरिएको हो।
कार्यक्रममा महेश्वरी समाज वीरगंजका सचिव समय सावु, कोषाध्यक्ष विकास कर्णानी, शिव मोहता, दीपक बाहेतीलगायत समाजका पदाधिकारी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।
साडी प्राप्त गरेपछि व्रतालु महिला तथा स्थानीय बासिन्दाहरूले महेश्वरी समाजप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक तथा परोपकारी कार्यले छठ पर्वको उत्साह र उल्लास थप बढाएको बताए।
महेश्वरी समाज वीरगंजले यसअघि पनि विभिन्न चाडपर्वका अवसरमा तथा अप्ठ्यारो परिस्थितिमा सामाजिक र मानवीय सेवाका कार्यहरू गर्दै आएको छ।