वीरगंज - वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्ने प्रयासमा रहेको चर्चा सुरु भएपछि वीरगंजको राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ। विशेष सूत्रबाट प्राप्त जानकारीअनुसार, सिंहलाई रास्वपामा भित्र्याएर आगामी निर्वाचनमा वीरगंज महानगरपालिकाको मेयर पदको उम्मेदवार बनाउने विषयमा पार्टीका उच्च तहका केही नेताहरूले सक्रिय रूपमा लबिङ गरिरहेका छन्।
विशेष सूत्रका अनुसार, मेयर सिंहसँग निकट सम्बन्ध रहेका रास्वपाका उच्च तहका नेताहरूले उनको पक्षमा पार्टीभित्र जबर्जस्त लबिङ गरिरहेका छन्। सिंहलाई पार्टीमा प्रवेश गराएर आगामी निर्वाचनमा उम्मेदवार बनाउने विषयमा केही प्रभावशाली नेताहरूले सकारात्मक वातावरण निर्माण गर्न पहल गरिरहेको सूत्रको दाबी छ।
यदि यो प्रयास सफल भएमा सिंहको राजनीतिक यात्राले फेरि अर्को मोड लिन सक्नेछ। यसले वीरगंजको आगामी निर्वाचनको राजनीतिक समीकरणमा समेत नयाँ बहस सिर्जना गर्ने देखिन्छ। तर, रास्वपाबाट वीरगंज महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने सम्भावना बोकेका व्यक्ति सिंह मात्रै होइनन्। वीरगंज महानगरपालिकाका प्रथम मेयर विजयकुमार सरावगीले पनि नेकपा एमाले परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिइसकेका छन्। आगामी स्थानीय तह निर्वाचनमा रास्वपाबाट वीरगंजको मेयर पदमा उम्मेदवारी दिने विषयमा सरावगीको नाम पनि चर्चामा छ।
यसरी एकातिर वर्तमान मेयर सिंहलाई रास्वपामा भित्र्याउन उच्च तहका नेताहरूले लबिङ गरिरहेको विशेष सूत्रको दाबी छ भने अर्कोतर्फ पार्टीको सदस्यता लिइसकेका पूर्वमेयर सरावगी पनि वीरगंजको राजनीतिमा सक्रिय छन्। वर्तमान मेयर र पूर्वमेयर दुवैको सम्भावित राजनीतिक सहकार्य वा एउटै पार्टीबाट उम्मेदवारीको आकांक्षाले रास्वपाभित्रको आगामी राजनीतिक समीकरणलाई चासोको विषय बनाएको छ।
एमाले प्रवेशको तयारीदेखि जसपाको टिकटसम्म : सिंहको पुरानो राजनीतिक घटनाक्रम
राजेशमान सिंहको राजनीतिक दल परिवर्तनको प्रसंग भने नयाँ होइन। २०७९ सालको स्थानीय तह निर्वाचनअघि उनी नेकपा एमाले प्रवेश गरी एमालेकै तर्फबाट वीरगंज महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने तयारीमा थिए।
त्यसबेला सिंहले नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरी आफू लगायत ठूलो समूह नेकपा एमालेमा प्रवेश गर्ने घोषणा गरेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पार्टी प्रवेश गर्ने तयारीसमेत सार्वजनिक गर्दै उनले आफू र आफूसँग रहेको ठूलो जमात एमालेमा समाहित हुने बताएका थिए।
तर, त्यसको केही दिनपछि वीरगंजको राजनीतिक घटनाक्रमले अर्कै मोड लियो। नेशनल मेडिकल कलेज, वीरगंजका अध्यक्ष डा. जैनुद्दिन अन्सारीको पारिवारिक विवाह समारोहमा सहभागी हुन वीरगंज आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले विजयकुमार सरावगीलाई पार्टी प्रवेश गराएपछि सिंहको एमाले प्रवेश गर्ने योजना प्रभावित भएको बताइन्छ।
सरावगीलाई एमाले प्रवेश गराउने प्रक्रियामा एमालेका स्थानीय नेताहरू तथा ओलीका सल्लाहकारसमेत रहेका सरावगी निकट मोती दुगडको भूमिका रहेको राजनीतिक वृत्तमा चर्चाको विषय बनेको थियो। ओलीको उपस्थितिमा सरावगी एमाले प्रवेश गरेपछि सिंह एमाले प्रवेश गर्ने योजनाबाट पछि हटेको बताइन्छ।
त्यसपछि सिंहले जसपा नेपालका केन्द्रीय नेता प्रदीप यादवको सहयोगमा जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका थिए। जसपामा प्रवेश गरेको केही दिनमै नेपाली कांग्रेससहित पाँच राजनीतिक दलबीच चुनावी गठबन्धन बनेपछि सिंहका लागि वीरगंज महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने राजनीतिक बाटो सहज भएको थियो।
पाँचदलीय गठबन्धनको समर्थनमा ४६ हजार २१५ मतसहित विजयी
२०७९ सालको स्थानीय तह निर्वाचनमा राजेशमान सिंहले जनता समाजवादी पार्टी (जसपा) बाट वीरगंज महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका थिए।
त्यसबेला नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच पाँचदलीय गठबन्धन बनेको थियो। गठबन्धनको समर्थनमा चुनाव लडेका सिंहले ४६ हजार २१५ मत प्राप्त गर्दै वीरगंज महानगरपालिकाको मेयर पदमा विजय हासिल गरेका थिए।
उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजयकुमार सरावगीलाई २२ हजार ५४४ मतान्तरले पराजित गरेका थिए। सरावगीले २३ हजार ६७१ मत प्राप्त गरेका थिए।
त्यसबेला मेयर पदमा जसपाका सिंह र उपमेयर पदमा नेपाली कांग्रेसका इम्तियाज आलम पाँचदलीय गठबन्धनका उम्मेदवार थिए। उपमेयर पदमा आलमले ३० हजार ७८ मत प्राप्त गर्दै विजयी भएका थिए भने उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पुरुषोत्तमलाल झाले ९ हजार ५६८ मत प्राप्त गरेका थिए।
उता नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच पनि चुनावी तालमेल भएको थियो। एमालेबाट विजयकुमार सरावगी मेयर र लोसपाबाट पुरुषोत्तमलाल झा उपमेयरका उम्मेदवार थिए।
यसरी एमाले प्रवेशको तयारी गरेका सिंह अन्ततः जसपामा प्रवेश गरेर पाँचदलीय गठबन्धनको साझा उम्मेदवार बने र वीरगंजको मेयरमा निर्वाचित भए। उनको राजनीतिक यात्रामा तत्कालीन पाँचदलीय गठबन्धनको समर्थन महत्त्वपूर्ण राजनीतिक अवसरका रूपमा रह्यो।
एमाले छाडेर रास्वपामा पुगेका सरावगी पनि वीरगंजको राजनीतिमा सक्रिय
वीरगंज महानगरपालिकाका प्रथम मेयर विजयकुमार सरावगीले २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट मेयर पदमा निर्वाचित भएका थिए। पछि उनी जसपा नेपाल छाडेर २०७८ सालमा नेकपा एमाले प्रवेश गरेका थिए। २०७९ को निर्वाचनमा एमालेबाटै मेयरको उम्मेदवार बनेका सरावगी सिंहसँग पराजित भएका थिए।
त्यसपछि एमालेको केन्द्रीय राजनीतिमा सक्रिय रहेका सरावगीले २०८३ साल असोजमा नेकपा एमाले छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएको सार्वजनिक गरेका थिए।
सरावगीले रास्वपाको सदस्यता लिएको विषयमा सार्वजनिक रूपमा आफ्नो धारणा राख्दै पार्टीको एजेन्डा मन परेकै कारण सदस्यता लिएको र तत्काल कुनै पदको आकांक्षा नराखेको बताएका थिए। उनले आफू मेयर पदकै लागि पार्टी परिवर्तन गरेको भन्ने चर्चालाई समेत अस्वीकार गरेका थिए। उनले पार्टीले विश्वास गरेर वीरगंज महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने अवसर दिए आफू पुर्ण रूपमा चुनावी मैदानमा होमिएर चुनाव लड्न तयार रहेको बताएका छन्। यदि पार्टीले टिकट नदिएको अवस्थामा पार्टीको निर्णयलाई शिरोधार्य गर्दै पार्टीको नीति, नियम र सिद्धान्त अनुसार देश र जनताको पक्षमा काम गरिरहने उनको भनाइ रहेको छ।
यद्यपि, आगामी स्थानीय निर्वाचनमा रास्वपाबाट वीरगंजको मेयर पदमा उनको सम्भावित उम्मेदवारीबारे राजनीतिक वृत्तमा चर्चा जारी छ।
सिंह र सरावगी एउटै पार्टीमा, टिकटको प्रतिस्पर्धा कस्तो होला ?
२०७९ सालको स्थानीय तह निर्वाचनमा एकअर्काका मुख्य प्रतिस्पर्धी रहेका राजेशमान सिंह र विजयकुमार सरावगी अहिले एउटै राजनीतिक दल अर्थात् रास्वपाको राजनीतिक वृत्तमा जोडिन सक्ने अवस्था बनेको छ।
एकातिर रास्वपाको सदस्यता लिइसकेका सरावगी छन् भने अर्कोतर्फ विशेष सूत्रको दाबीअनुसार वर्तमान मेयर सिंहलाई पनि रास्वपामा भित्र्याएर आगामी निर्वाचनमा उम्मेदवार बनाउन उच्च तहबाट पहल भइरहेको छ।
दुवै नेताको राजनीतिक पृष्ठभूमि, वीरगंज महानगरपालिकाको नेतृत्व गरिसकेको अनुभव र विगतको चुनावी प्रतिस्पर्धाका कारण उनीहरूको सम्भावित राजनीतिक सहकार्य वा एउटै दलबाट उम्मेदवारीको विषयले स्थानीय राजनीतिक वृत्तमा चासो बढाएको छ।
तर, सिंहको रास्वपा प्रवेश र उम्मेदवारीबारे अहिलेसम्म औपचारिक घोषणा भएको छैन। त्यस्तै, सरावगीले पनि आफू मेयर पदकै लागि रास्वपामा प्रवेश गरेको भन्ने चर्चालाई अस्वीकार गरिसकेका छन्। त्यसैले आगामी दिनमा रास्वपाले वीरगंज महानगरपालिकाको मेयर पदका लागि कस्तो राजनीतिक निर्णय लिन्छ भन्ने विषय प्रतीक्षाको विषय बनेको छ।
प्रतिक्रिया लिन खोज्दा सम्पर्कमा आएनन् मेयर सिंह
यस विषयमा मेयर राजेशमान सिंहसँग उनको प्रतिक्रिया लिन सम्पर्क गर्ने प्रयास गरिएको थियो। तर उनी सम्पर्कमा आउन चाहेनन्। रास्वपाबाट उम्मेदवार बन्ने प्रयास भइरहेको भन्ने विशेष सूत्रको दाबी तथा पार्टीका उच्च तहका नेताहरूले गरिरहेको भनिएको लबिङबारे सिंहको आधिकारिक धारणा प्राप्त हुन सकेन।
त्यस्तै, सिंहलाई पार्टीमा भित्र्याउने र आगामी निर्वाचनमा मेयरको उम्मेदवार बनाउने विषयमा रास्वपाको आधिकारिक धारणा पनि सार्वजनिक भएको छैन।
यसरी विगतमा एमाले प्रवेशको तयारी गरेका, पछि जसपामा प्रवेश गरी पाँचदलीय गठबन्धनको समर्थनमा मेयर निर्वाचित भएका राजेशमान सिंहको आगामी राजनीतिक कदमलाई लिएर वीरगंजको राजनीतिमा नयाँ चर्चा सुरु भएको छ। अब उनी वास्तवमै रास्वपाको यात्रामा अघि बढ्छन् वा विगतमा जस्तै उनको राजनीतिक समीकरणले अर्को मोड लिन्छ, त्यो भने आगामी दिनमा स्पष्ट हुनेछ।