वीरगञ्ज । ३२औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ पर्सा शाखाको आयोजनामा आज वीरगञ्जमा प्रभातफेरी तथा कोणसभा सम्पन्न भएको छ ।
“बलियो नयाँ युगमा रिपोर्टिङ : प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ताको प्रभाव” भन्ने नारासहित मनाइएको कार्यक्रममा पत्रकारिता क्षेत्रमा योगदान पुर्याउनेहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै स्वतन्त्र र जिम्मेवार प्रेसको महत्त्वमाथि जोड दिइएको थियो ।
घण्टाघरबाट सुरु भएको प्रभातफेरी माइस्थान, आदर्शनगर हुँदै विभिन्न स्थान परिक्रमा गरी पुनः घण्टाघरमा कोणसभामा परिणत भएको थियो । कोणसभामा वक्ताहरूले प्रेस स्वतन्त्रता संरक्षण, पत्रकार सुरक्षाको प्रत्याभूति, र उत्तरदायी पत्रकारिताको अभ्यासका विषयमा आफ्ना धारणा राखेका थिए ।
नेपाल पत्रकार महासंघका सचिव अशोक तिवारीले पछिल्लो समय प्रेस स्वतन्त्रता हननको दर बढ्दो रहेकोप्रति चिन्ता व्यक्त गर्दै पत्रकारितामाथिको हस्तक्षेपप्रति राज्य संयमित हुनुपर्ने बताए ।
महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले पत्रकारहरूमाथि भइरहेका धम्की र आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै दोषीमाथि कडा कारबाहीको माग गरे ।
कार्यक्रममा महासंघका लेखा समिति संयोजक केसी लामिछाने, पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालसहित पत्रकार, नागरिक समाज र विभिन्न संघ–संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
आयोजकका अनुसार यस्तो दिवसले स्वतन्त्र, सुरक्षित र उत्तरदायी पत्रकारिताको संरक्षण तथा सञ्चारकर्मीप्रति सम्मान व्यक्त गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ ।
यस्ता कार्यक्रमहरूबाट सञ्चारकर्मीहरूलाई हौसला मिल्ने तथा अभिव्यक्ति स्वतन्त्रताको अभ्यासमा बल पुग्ने अपेक्षा गरिएको छ ।