वीरगञ्ज। बुधबार दिउँसोदेखि विद्युत् आपूर्ति अवरुद्ध भएपछि वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा खानेपानीको समस्या उत्पन्न भएको छ। आकस्मिक परिस्थितिलाई मध्यनजर गर्दै कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको विशेष पहल र निर्देशनमा महानगरपालिकाले राति नै पानीका ट्याङ्कर परिचालन गरी प्रभावित बस्तीहरूमा खानेपानी वितरण गरेको छ।
बुधबार अपराह्न करिब ३ बजेदेखि विद्युत् आपूर्ति अवरुद्ध भएपछि महानगरका अधिकांश वडामा पानी तान्न नसक्दा खानेपानीको अभाव भएको थियो। गर्मीयामका बीच पिउने पानीको समस्या चर्किएपछि स्थानीयवासी कठिनाइमा परेका थिए। विद्युत् नहुँदा धाराहरूमा पानी आउन छाडेको थियो भने घर–घरमा जडान गरिएका विद्युतीय मोटरसमेत सञ्चालन हुन सकेका थिएनन्।
नागरिकबाट लगातार गुनासो आउन थालेपछि कार्यवाहक नगरप्रमुख आलमले तत्काल आवश्यक पहल गर्दै महानगरपालिकाका पानीका ट्याङ्कर परिचालन गर्न निर्देशन दिनुभएको थियो। उहाँकै प्रत्यक्ष निगरानीमा खटिएको टोलीले राति अबेरसम्म खानेपानी अभाव भएका विभिन्न टोल र बस्तीमा पुगेर सुरक्षित खानेपानी वितरण गरेको थियो।
मध्यरातमा घरदैलोमै पानी पुगेपछि स्थानीयवासीले राहत महसुस गरेका छन्। आकस्मिक परिस्थितिमा महानगरपालिकाले देखाएको तत्परता र नेतृत्वको उनीहरूले खुलेर प्रशंसा गरेका छन्।
एक स्थानीयवासीले भने, "राति पिउने पानीसमेत नपाएर काकाकुल हुने अवस्था बनेको थियो। तर कार्यवाहक प्रमुख इम्तियाज आलमले हाम्रो समस्या बुझेर राति नै पानी पुर्याइदिँदा ठूलो राहत मिल्यो। जनप्रतिनिधि भनेको यस्तै कठिन समयमा नागरिकको साथमा उभिने व्यक्ति हो।"
यस विषयमा महानगरपालिकाले यस्ता आकस्मिक अवस्था वा प्राकृतिक विपद्का समयमा पनि नागरिकको सेवामा निरन्तर खटिने प्रतिबद्धता जनाएको छ। कार्यवाहक नगरप्रमुख आलमले जनताको आधारभूत आवश्यकता पूरा गर्नु महानगरको पहिलो दायित्व भएको उल्लेख गर्दै विपद् र अप्ठ्यारो परिस्थितिमा महानगर सधैँ नगरवासीको साथमा रहने बताउनुभयो।
महानगरपालिकाका अनुसार विद्युत् आपूर्ति पूर्ण रूपमा सहज नहुन्जेल आवश्यकताअनुसार वैकल्पिक व्यवस्था गर्दै खानेपानी वितरणलाई निरन्तरता दिइनेछ।