वीरगंज, जेठ २८ । वीरगंज महानगरपालिकाको कोरोना विपद् व्यवस्थापन कोषमा मेगा बैंक वीरगंज शाखाका कर्मचारीहरुले ३९ हजार २ सय पचास रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
वीरगंज महानगरपालिकाले पिसिआर मेसिन, भिटिएम किट लगायत स्वास्थ्य सामग्री खरिद गर्नका लागि शुरु गरेको अभियानमा सहयोग स्वरुप मेगा बैंक वीरगंज शाखाका कर्मचारीहरुबाट व्यक्तिगत रुपमा संकलन गरी उक्त रकम सहयोग गरिएको बैंकका शाखा प्रबन्धक यशपाल टिबडेवालले बताउनु भयो ।
बैंकका शाखा प्रबन्धक यशपाल टिबडेवालको नेतृत्वमा गएको टोलीले महानगरका मेयर विजय सरावगीलाई आज उनको कार्यकक्षमै भेटेर चेक हस्तान्तरण गरेको हो ।
चेक हस्तान्तरण कार्यक्रममा बोल्दै प्रबन्धक टिबडेवालले महानगरपालिकाद्वारा शुरु गरिएको अभियानमा अन्य सम्पूर्ण सरोकारवाला निकाय, क्षेत्र र वित्तीय संस्थाहरुलाई पनि सहयोग गर्न आग्रह गरे । उनले कोरोना भाइरसको युद्धमा सबै मिलेर अगाडी बढे अभियानले सार्थकता पाउने बताए ।
त्यसैगरी मेयर सरावगीले मेगा बैंकलाई धन्यवाद दिँदै महानगरले खरिद गर्न लागेको नयाँ पिसिआर मेसिनबाट छिट्टै परीक्षण शुरु हुने जानकारी दिए ।
