वीरगञ्ज। अपरेटिभ म्यानेजर्स क्लब, पर्साको आयोजनामा तथा राष्ट्रिय सहकारी बैंक लिमिटेड, वीरगञ्ज शाखाको प्राविधिक सहयोगमा “नियमकिय निर्देशन र पुँजी पर्याप्तता: सिद्धान्त, गणना र कार्यान्वयन” विषयक एकदिने कार्यशाला गोष्ठी शनिबार वीरगञ्जस्थित पुजन होटलमा सम्पन्न भएको छ।
कार्यक्रम क्लबका अध्यक्ष रविभूषण श्रीवास्तवको अध्यक्षतामा सम्पन्न भएको हो भने राष्ट्रिय सहकारी बैंकका संचालक विश्वनाथ मण्डलले प्रमुख अतिथिका रूपमा गोष्ठी उद्घाटन गरे। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाइँले प्रशिक्षण दिएका थिए । क्लबका संस्थापक अध्यक्ष जिष्णु बराल, चन्देश्वर प्रसाद चौरसिया, निवर्तमान अध्यक्ष संजय कुमार महतो विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
पर्सा र बाराका करिब ७०० सहकारीहरूमध्ये छानिएका ८० जना प्रबन्धकहरूले गोष्ठीमा सक्रिय सहभागिता जनाएका थिए। कार्यशालामा सहकारीहरूको दीर्घकालीन वित्तीय सुदृढता, पारदर्शिता, नियमन तथा पुँजी गणनासम्बन्धी विषयमा गहन प्रस्तुति र छलफल गरिएको थियो।
शाखा प्रमुखले सहकारीहरूको वर्तमान अवस्था तथा भविष्यका सम्भावनामाथि प्रकाश पार्दै, सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रम सञ्चालन प्रदीप कुमार लोहारले गरेका थिए भने क्लबका सचिवले सहकारीहरूको समस्या र प्रशिक्षण आवश्यकतासम्बन्धी प्रतिवेदन प्रस्तुत गरे।
कार्यक्रमलाई सहभागीहरूले अत्यन्त उपयोगी, व्यवहारिक र ज्ञानवर्द्धक अनुभव भएको बताएका छन्। उनीहरूले यस्ता गोष्ठीहरू सहकारी व्यवस्थापनमा दक्षता, पारदर्शिता र स्थायित्वमा सहयोगी हुने विश्वास व्यक्त गरेका छन्।
अपरेटिभ म्यानेजर्स क्लब, पर्साले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ।