वीरगंज, जेठ ३० । वीरगंज महानगरपालिकाको कोरोना विपद् व्यवस्थापन कोषमा नबिल बैंकले रु. ३ लाख आर्थिक सहयोग गरेको छ ।
वीरगंज महानगरपालिकाले पिसिआर मेसिन, भिटिएम किट लगायत स्वास्थ्य सामग्री खरिद गर्नका लागि शुरु गरेको अभियानमा हातेमालो गर्दै नबिल बैंकले पनि सहयोग गरेको बैंकका प्रदेश नम्बर २ का प्रमुख कृष्ण थापाले बताउनु भयो ।
नबिल बैंकका प्रदेश नम्बर २ का प्रमुख कृष्ण थापा र शाखा प्रबन्धक नितिन नन्दवाना लगायतको टोलीले महानगरका मेयर विजय सरावगीलाई आज उनको कार्यकक्षमै भेटेर रु. ३ लाखको चेक हस्तान्तरण गरेको हो ।
चेक हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख थापाले महानगरपालिकाद्वारा शुरु गरिएको अभियानमा अन्य सम्पूर्ण सरोकारवाला निकाय, क्षेत्र र वित्तीय संस्थाहरुलाई पनि सहयोग गर्न आग्रह गरे ।
उनले कोरोना भाइरसको युद्धमा सबै मिलेर अगाडी बढे अभियानले सार्थकता पाउने बताए ।
त्यसैगरी मेयर सरावगीले नबिल बैंकले वीरगंज महानगरपालिकालाई सहयोग गरेकोमा धन्यवाद दिँदै महानगरले खरिद गर्न लागेको नयाँ पिसिआर मेसिनबाट छिट्टै परीक्षण शुरु हुने जानकारी दिए ।
