काठमाडौं । मन्त्रीले ‘खाए’ भन्दै सांसद्ले आरोप लगाए । आरोप जति रोचक थियो, आरोपको प्रतिवाद पनि त्यति नै रोचक आएको छ ।
समाजवादी पार्टीका सांसद् प्रदीप यादवले खेलकूद मन्त्रीलाई आरोप लगाउनुभयो– १७ करोड रुपैयाँ मन्त्रीलाई एन्फाले दियो ।
खेलकूद मन्त्री हुनुहुन्छ जगतबहादुर विश्वकर्मा । प्रदीपले आरोप लगाउनु भएको थियो गत शुक्रबार प्रतिनिधि सभा बैठकमा । वार्षिक बजेटमा खेलकूद मन्त्रालयका लागि विनियोजित रकमका सम्बन्धमा बैठकमा छलफल थियो । छलफलमा प्रदीपले १७ करोड रुपैयाँको आरोप लगाउनु भएको थियो ।
त्यो आरोपको रोचक जवाफ खेलकूद मन्त्री जगतबहादुरले प्रतिनिधि सभामा दिनु भएको छ । खेलकूद मन्त्रालयका लागि विनियोजित बजेट सम्बन्धमा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा जगतबहादुरले सांसद् प्रदीप यादवको नाम नलिई भन्नु भयो– ‘१७ करोडमा माननीयज्यूले के भन्न खोजेको ? आशय के हो ? सम्बन्धित माननीयज्यूले स्पष्ट गर्नुपर्छ ।’
खेलकूद मन्त्रीले अगाडि भन्नुभयो– ‘उहाँले जुन शब्दमा बोल्नुभएको छ, जे भन्नु भएको छ, भनेको त्यही हो भने यो विषय गम्भीर छ । उहाँले जुन शब्द उच्चारण गर्नु भएको छ, भन्न खोजेको त्यही हो भने त्यसलाई पुष्टि गर्न, प्रमाणित गरेर देखाउन म चुनौती दिन्छु ।’
‘एन्फाबाट या अरु कसैबाट मैले एक रुपैयाँ लिएको छुइन’– मन्त्री जगतबहादुरले भन्नु भयो– ‘निष्ठा र इमानसाथ आफ्नो जिम्मेवारी पूरा गर्न कठिन मेहेनत गरिरहने, मिडियामा प्रचारप्रसारभन्दा पनि काममा केन्द्रीत हुने म जस्तो मान्छेले यस्तो आरोप सुन्नपर्दा म दुःखी छु ।’
उहाँको भनाई थियो– ‘सार्वजनिक जिम्मेवारीमा रहेको व्यक्तिको सार्वजनिक जीवन मात्र हुँदैन, नीजि जीवन पनि हुन्छ । वर्षाैंदेखि कठिन र मेहेनतसाथ निर्माण गरेको व्यक्तिको छवीलाई बिना आधार कसैले धमिल्याउन पाइँदैन ।’
सांसद् प्रदीप यादवले मन्त्री जगतबहादुरलाई एन्फाले माया गरेको भन्नु भएको थियो । तर, सांसद् यादवको नाम नलिई मन्त्री जगतबहादुरले अगाडि भन्नुभयो– ‘मलाई सबैले माया गर्छन्, खेलाडि, प्रशिक्षक, पत्रकार, कर्मचारी सबैले माया गर्छन् ।’
आफूलाई लगाइएको आरोपको रेकर्ड प्रतिनिधि सभाको रेकर्डबाट हटाउन उहाँले माग गर्नुभयो ।
मन्त्री जगतबहादुरले बोलिसकेपछि उहाँलाई स्पष्टिकरण माग्न सांसद्हरुलाई समय दिइएको थियो । तर, त्यो समयमा सांसद् प्रदीपले कुनै स्पष्टिकरण सोध्नुभएन ।