काठमाडौं । नीति तथा कार्यक्रम सहित समसामयिक राजनीतिक एजेण्डामाथि छलफल गर्ने भनेर आइतबार बोलाइएको सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक निर्धारित समय भन्दा ढिलो सुरु भएर हतारमै सकिएको थियो ।
दिउँसो २ बजेका लागि निर्धारित बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको समय व्यस्तताका कारण भनेर एक घण्टापछि धकेलिएको थियो, अनि फेरि बालुवाटारमा तीन दलको बैठक बस्न ढिलो भयो भन्दै बोल्न चाहेका नेताहरूको समेत कुरै नसुनी बैठक टुंग्याइएको थियो ।
तर, हतारमै बैठक सकिए पनि प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम, सत्ता समीकरणदेखि पार्टीको आन्तरिक विषयमा समेत बोले । बैठकको विषय प्रवेशका रुपमा प्रधानमन्त्री ओलीले राखेका यी विषयहरूमध्ये सत्ता समीकरणबारे सुनाइएको निष्कर्ष अर्थपूर्ण थियो ।
‘नेपाली कांग्रेसका केही नेताहरूले सार्वजनिक रुपमा असन्तुष्टि राखिरहे पनि सत्ता सहयात्रामा संकट छैन भन्ने कुरा प्रधानमन्त्रीले बैठकमा राख्नुभएको थियो,’ एमालेका एक पदाधिकारी भन्छन्, ‘सत्ता समीकरण सुरक्षित छ भन्दा प्रधानमन्त्री जसरी प्रस्तुत हुनुभयो, त्यसले सत्ता संकट टरेको अनुमान लगाउन सकिन्थ्यो ।’
एमालेका ती पदाधिकारीको विश्लेषणलाई बल पुग्नेगरी अरू राजनीतिक घटनाक्रम पनि विकसित भइरहेको देखिन्छ । वर्तमान सत्ताको संकट टरेकै अनुमानलाई बल पुग्ने बलियो उदाहरण त नेकपा माओवादी केन्द्रको निर्णय र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सार्वजनिक अभिव्यक्ति नै हो ।
सोमबार प्रतिनिधि सभा बैठकबाट बाहिरिँदै प्रचण्डले सत्ता बनाउनेतिर आफ्नो ध्यान नरहेकोसार्वजनिक प्रतिक्रिया दिएका छन् । ‘अहिले हाम्रो ध्यान सरकार बनाउनेतिर छैन । हाम्रो ध्यान जनतामै जाने छ,’ प्रचण्डले भनेका छन्, ‘मध्य पहाडी लोकमार्ग अभियानमा जाँदैछौं । जादु चलाउन चाहे चल्छ, तर अहिले हामी चलाउने पक्षमा छैनौं ।’
प्रमुख विपक्षी माओवादीले आइतबार मात्रै (२१ वैशाखमा) पदाधिकारी बैठक राखेर मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान चलाउने निर्णय गरेको हो । जबकि राष्ट्रिय राजनीतिक परिस्थितिकै कारण भन्दै माओवादीले हुलाकी राजमार्ग केन्द्रित अभियान पटकपटक स्थगित गरेको थियो । र, प्रचण्डले कांग्रेस–एमालेको सत्ता समीकरण संकटमा परिसकेको सार्वजनिक अभिव्यक्ति दिइरहन्थे ।
यस्तैमा कांग्रेस सभापति शेरबहादुर देउवा गत ७ वैशाखमा स्वास्थ्य उपचारको फलोअप गर्न भनेर बैंकक उडे । यही मौका पारेर प्रचण्डले बैंककबाट देउवा फर्किएपछि नयाँ सत्ता समीकरण बन्नसक्ने अभिव्यक्ति दिँदा राष्ट्रिय राजनीति तरंगित बन्न पुगेको थियो ।
तर १२ वैशाखमा स्वदेश फर्कंदै देउवाले शंका मेट्नेगरी बोले । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग बोल्दै देउवाले सत्ता समीकरण तलमाथि नहुने विश्वास दिलाएका थिए । ‘गठबन्धन जसरी पनि टिक्छ । केही भएको छैन । सत्ता समीकरण परिवर्तन हुने कुरा कसले भनेको हो, थाहा छैन मलाई’, देउवाको संक्षिप्त जवाफ थियो ।
यसपछि लगातारजसो ओली–देउवाबीच सम्वाद भयो । जसको परिणाम सत्ता संकट तत्काललाई टरेको संकेतहरू देखिन थालेको कांग्रेसका एक शीर्ष नेता बताउँछन् ।