वीरगञ्ज - नेकपा एमालेका केन्द्रीय सदस्य एवं वीरगञ्ज महानगरपालिकाका पूर्वनगर प्रमुख विजयकुमार सरावगीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्यता लिएको विवरण सार्वजनिक भएपछि वीरगञ्जको राजनीतिमा नयाँ तरंग पैदा भएको छ।
प्राप्त समाचार अनुसार सरावगीले बिहीबार अनलाइनमार्फत रास्वपाको सदस्यता प्रक्रिया पूरा गरेका हुन्। सार्वजनिक भएको सदस्यता विवरणमा उनको नामसहित PRS1ख-000435776 सदस्य आईडी उल्लेख गरिएको छ।
उक्त विवरणमा सदस्यता ‘centeroffice1’ बाट प्रमाणीकरण गरिएको देखिन्छ। सरावगी यसअघि नै रास्वपामा जाने तयारीमा रहेको चर्चा राजनीतिक वृत्तमा चल्दै आएको थियो। सदस्यता विवरण सार्वजनिक भएसँगै उक्त चर्चाले थप बल पाएको छ।
सरावगी हालै नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। एमालेको केन्द्रीय नेतृत्वमा रहेका व्यक्तिको नाम रास्वपाको सदस्यता विवरणमा देखिएपछि उनको आगामी राजनीतिक कदमलाई लिएर विभिन्न अड्कलबाजीहरू शुरू भएको छ।यसैबीच सरावगीले पनि आफ्नो फेसबुक एकाउन्ट मार्फत आजको मिति देखि नेकपा एमालेको सधारण सदस्य समेत नरहने गरि सम्पुर्ण जिम्मेवारी परित्याग गरेको कुरा औपचारिक रूपमा सार्वजनिक गरेका छन्।
