वीरगञ्ज - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबाट प्रदेशसभा सदस्यका प्रत्याशी उम्मेदवार परमानन्द साह कानु नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ। वीरगञ्ज महानगरपालिका वडा नं. १० निवासी कानुले राप्रपा नेपाल परित्याग गर्दै आज नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको हो।
नेपाली कांग्रेस पर्साको १५औँ महाधिवेशन तयारी समितिका संयोजक विजय कर्णले वडा नं. १० को अधिवेशनस्थलमै कानुलाई टीका र खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो।
कानु प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा क्षेत्र नं. २ (ख) बाट राप्रपा नेपालको तर्फबाट प्रदेशसभा सदस्यका प्रत्याशी उम्मेदवार रहनुभएको थियो।
यसैबीच, नेपाली कांग्रेसको वडा नं. १० को अधिवेशन पनि सम्पन्न भएको छ। अधिवेशनबाट वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू र क्षेत्रीय प्रतिनिधिहरू निर्विरोध निर्वाचित भएको जनाइएको छ।
कांग्रेसको १५औँ महाधिवेशनको तयारीसँगै स्थानीय तहमा संगठन विस्तार तथा अधिवेशनसम्बन्धी गतिविधि अघि बढिरहेका छन्।