वीरगञ्ज - वीरगञ्जका पूर्वमेयर विजय सरावगीले नेकपा एमाले परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोजेपछि उनको राजनीतिक निर्णयलाई लिएर विभिन्न टिप्पणी भइरहेका बेला वीरगञ्ज हेल्थकेयर अस्पतालका अध्यक्ष डा. अबुल हैस अंसारीको फेसबुक स्टाटस चर्चामा आएको छ।
डा. अंसारीले राजनीतिक दल रोज्ने अधिकार व्यक्तिको स्वतन्त्र निर्णय भएको उल्लेख गर्दै आफूलाई मन परेको दलमा आबद्ध हुन कसैसँग अनुमति लिनुपर्ने बाध्यता नरहेको आशय व्यक्त गरेका छन्।
डा. अंसारीले आफ्नो फेसबुक वालमा नेपाली कांग्रेस, नेकपा एमाले वा जनता समाजवादी पार्टी (जसपा) मध्ये जुनसुकै दलमा जाने निर्णय आफ्नो व्यक्तिगत अधिकार भएको बताएका छन्।
उनले राजनीतिक दल कसैको निजी वा कसैको बाउको कम्पनी नभएको हुनाले सदस्यता लिनुअघि कसैसँग अनुमति लिनुपर्ने बाध्यता नरहेको आशय व्यक्त गरेका छन्।
अंसारीले फेसबुकमा लेखेका छन्, “सम्पूर्ण राजनीतिक दलहरूले अनलाइन फारम भरेर सदस्यता लिन आह्वान गरेका छन्। म चाहिँ कांग्रेसमा जाऊँ वा एमालेमा जाऊँ वा जसपामा जाऊँ, त्यो मेरो अधिकारको कुरा हो। राजनीतिक दल प्राइभेट कम्पनीजस्तो कसैको बाउको हो र, जो म सोधेर सदस्यता लिनुपर्छ?”
डा. अंसारीको यो अभिव्यक्ति सरावगीको पार्टी परिवर्तनपछि वीरगञ्जमा भइरहेको राजनीतिक बहससँग जोडिएको छ। सरावगीले एमाले छाडेर रास्वपाको सदस्यता लिने निर्णय गरेपछि उनको राजनीतिक कदमलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्।
राजनीतिक दलमा आबद्ध हुने वा दल परिवर्तन गर्ने विषयलाई व्यक्तिको राजनीतिक स्वतन्त्रताका रूपमा हेर्नुपर्ने अंसारीको अभिव्यक्तिको मूल आशय देखिन्छ। सरावगीको रास्वपा प्रवेशले वीरगञ्जको राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ।