काठमाडौँ । भिजिट भिसाको आडमा भइरहेको मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि नै प्रश्न उठेपछि उनले राजीनामा दिनुपर्ने आवाज उठ्न थालेको छ । प्रतिपक्षी दल रास्वपाका साथसाथै गृहमन्त्रीकै पार्टीका प्रभावशाली नेता डा शेखर कोइरालाले समेत उनले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने धारणा राखेका हुन् ।
त्रिभुवन विमानस्थल हुँदै भिजिट भिसाका नाममा मानव तस्करी हुने घटना नयाँ भने होइन । तर, सम्बन्धित निकायको उदासीनताका साथै आपसी सेटिङका कारण यो समस्या समाधान हुन नसकिरहेको यथार्थका बिच पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेसँगै विवाद थप बल्झिन पुगेको हो ।
अख्तियारले बुधबार त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयसँगै अरू केही ठाउँमा छापा मारेको थियो । ट्राभल एजेन्सी र एउटा मेनपावर सञ्चालकको कार्यालयमा समेत छापा मारेर कागजात र डिजिटल डिभाइस जफत गरेर अनुसन्धान सुरु गरिएको अख्तियार स्रोतका भनाइ छ ।
बिचौलियासँग मिलेर भिजिट भिसाका नाममा सेटिङमा विदेश जानेहरूबाट रकम असुल्ने गरेको आशंका अख्तियारको छ । सोही आशंकापछि अख्तियारले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख (सहसचिव) तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिइएको थियो । हाल उनलाई छाडिएपनि यो प्रकरणमा गृह मन्त्रालयकै जिम्मेवार अधिकारीहरुको संलग्नता रहेको आशंकासहित छानबिन चलिरहेको छ ।
सेटिङमा संलग्न कर्मचारी मात्र नभई बिचौलियाको समेत गृहमन्त्री रमेश लेखकको सचिवालयसम्म सम्पर्क भेटिएको भन्दै उनीमाथि व्यापक प्रश्न उठाइएको हो । यससँगै सादगी नेता मानिने लेखकले विगतमा सत्तामा रहेकाहरूमाथि उठाएको नैतिकताको प्रश्न अब उनीमाथि तेर्सिएको छ ।
गृहमन्त्री लेखकले अध्यागमन कार्यालयका तत्कालीन प्रमुख (सहसचिव) सुरेश पन्थीलाई हटाएर गत असोज २३ मा भट्टराईलाई जिम्मेवारी दिएका थिए । विवादास्पद पृष्ठभूमिका भट्टराईलाई पठाए लगत्तै अध्यागमनमा भिजिट भिसाको सेटिङ बढेको आरोप लाग्दै आएको थियो । सोही विषयमा अख्तियारसम्म उजुरी परेको र अख्तियारले छापा मार्ने सुइँको पाएसँगै हतारहतार गृहमन्त्रीले भट्टराईलाई मंगलबार नै मन्त्रालय तानेको आरोप लागेको छ ।
त्यसपछि पनि गृह मन्त्रालयले थप १४ जना कर्मचारीलाई विमानस्थल कार्यालयबाट तानेको छ । मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले अहिलेसम्म दुई पटक गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट ९ नायब सुब्बा, चार कम्प्युटर अपरेटर र एक सहायक कम्प्युटर अपरेटरलाई तानेर अन्यत्र पठाएको हो ।
मानव तस्करी जस्तो गम्भीर अपराधजन्य कार्यमा गृह मन्त्रालय र त्यसकै नेतृत्व जोडिइरहेको बेला सँगसँगै दैनिक ४० लाख रुपैयाँसम्म संकलन भएका समाचारहरू आएका छन् । सो रकम कहाँ–कहाँ पुग्थ्यो र यसमा क–कसको संलग्नता थियो भन्ने सवाल छानबिनपछि प्रस्ट होला नै तर, अहिले नै गृहमन्त्रीको नाम समेत मुछिएको भन्दै उनले राजीनामा दिँदै छानबिनमा सघाउनुपर्ने आवाज उठेको हो ।
पार्टीको अभियानमा व्यस्त रहेकाले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले यो विषयमा औपचारिक धारणा बाहिर ल्याइसकेको छैन । यद्यपि सो पार्टीका नेता सुदन किरातीले गृहमन्त्री लेखकलाई पदबाट राजीनामा दिन सुझाव दिएका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै किरातीले गृहमन्त्रीलाई स्वतन्त्र छानबिनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएका हुन् । उनले भने, ‘गृहमन्त्रीज्यू, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने गरेको मानव तस्करीबारे आफूलाई नै स्वतन्त्र छानबिनको माग गर्दै पदबाट राजीनामा दिएर उच्च नैतिकताको प्रदर्शन गरिदिनुहोस् । त्यसैमा जनता, देश र राजनीतिको भलो हुनेछ।’
शनिबार नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि गृहमन्त्रीको राजीनामाको माग गर्दै स्वतन्त्र छानबिनको वातावरण बनाउनुपर्ने बताएको छ।