वीरगञ्ज । पर्सा जिल्लाको पोखरिया नगरपालिका स्थित मालपोत कार्यालयमा जनशक्ति, प्रविधि र आधारभूत पूर्वाधारको अभावका कारण सेवा प्रवाहमा समस्या देखिएको छ। विशेषगरी कार्यालयमा जेनेरेटर, सुचारु नेटवर्क र पर्याप्त कर्मचारी नहुँदा सेवाग्राहीहरूलाई समयमै सेवा पाउन कठिनाइ भइरहेको छ।
सेवाग्राहीहरूका अनुसार कार्यालयमा बारम्बार विद्युत् अवरोध हुँदा कम्प्युटर नेटवर्क अवरुद्ध हुने र सो कारण काम सम्पन्न हुन घण्टौं कुर्नु पर्ने अवस्था सिर्जना भएको छ। “एक सानो कामका लागि दिनभर कुर्नुपर्छ, लाइन लागेर बस्दा पनि कहिले लाइट जान्छ, कहिले सिस्टम बन्द हुन्छ,” पोखरिया नगरपालिकाका एक सेवाग्राहीले गुनासो गरे।
मालपोत कार्यालय पोखरिया पुगेर प्रत्यक्ष रूपमा सेवाग्राहीहरूको अनुभव सुन्दा पनि अधिकांशले यस्तै समस्याको उल्लेख गरेका छन्। कतिपयले कार्यालयमा आवश्यक उपकरण र जनशक्तिको अभावकै कारण साना साना काममा समेत अनावश्यक ढिलाइ हुने गरेको बताए।
स्थानीय बासिन्दाहरूले कार्यालयमा तत्काल जेनेरेटरको व्यवस्था, स्थायी नेटवर्क सेवा र पर्याप्त कर्मचारी नियुक्तिको माग गरेका छन्। साथै, आधुनिक प्रविधिको प्रयोगमार्फत सेवा प्रभावकारी र पारदर्शी बनाइनुपर्नेमा समेत जोड दिएका छन्।
यसअघि पनि पोखरिया मालपोत कार्यालयमा सेवा प्रवाहको प्रभावकारिता सम्बन्धी गुनासा उठ्दै आएका थिए। तर, सम्बन्धित निकायबाट ठोस पहल नभएको भन्दै सेवाग्राहीहरू निराश देखिन्छन्।