वीरगञ्ज । वीरगञ्जको घण्टाघर छेउको बिपी उद्यानको अव्यवस्थित तरकारी बजार वडा नम्बर २ छपकैयास्थित रेल्वे रोडसँग जोडिएको सार्वजनिक जग्गामा सार्ने तयारी अन्तिम चरणमा पुगेको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।
घण्टाघर छेउको बिपी उद्यानको जग्गामा वर्षौँदेखि अनधिकृत रूपमा लाग्दै आएको खुद्रा तथा थोक तरकारी बजार महानगरपालिकाले रेल्वे रोडसँग जोडिएको ३२ कट्ठा जग्गामा सार्न थालेको हो ।
बिपी उद्यानमा पार्क निर्माणका लागि काम सुरु गरिसकेका कारण त्यहाँको तरकारी बजार महानगरपालिकाले रेल्वे रोडसँग जोडिएको सार्वजनिक जग्गामा सार्न थालेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले बताए ।
उनका अनुसार, रेल्वे रोडसँग जोडिएको सार्वजनिक ३२ कट्ठा जग्गामा थोक तरकारी पसलहरूलाई राख्नका लागि महानगरपालिकाले आफ्नै बजेटमा सटरसहितको व्यवस्थित सेड निर्माण गरेको छ । साथै वाउण्ड्री वाल निर्माणसँगै शौचालय पनि निर्माण गरिने कर्णले बताए ।
रेल्वे रोडसँग जोडिएको सार्वजनिक जग्गामा तरकारी बजारका लागि निर्माण गरिएको सटरसहितको सेडको अबको केही दिनमै टेन्डर निकालेर ठेक्कामा लगाइने र ठेक्का लागे लगत्तै बिपी उद्यानमा रहेको अहिलेको तरकारी बजार त्यहाँ स्थानान्तरण गरिने उनले बताए ।
रेल्वे रोडसँग जोडिएको सार्वजनिक जग्गामा निर्माण गरिएको तरकारी बजारको महानगरका मेयर राजेशमान सिंहसहितको टोलीले स्थलगत निरीक्षणसमेत गरेको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्ण,लेखा अधिकृत रामकुमार कुशवाहा, इन्जिनियर प्रकाश अमात्य, राजीव उपाध्यायसहित स्थलगत निरीक्षणमा पुगेका मेयर सिंहले नवनिर्मित तरकारी बजारमा आवश्यक थप पूर्वाधारहरू यथाशीघ्र निर्माण गर्न कर्मचारीहरूलाई निर्देशन दिएको मेयर सिंहका प्रेस सल्लाहकार नवराज फुयाँलले जानकारी दिए ।
रेल्वे रोडसँग जोडिएको जग्गामा तरकारी बजार स्थानान्तरण गरे लगत्तै बिपी उद्यानमा पार्क निर्माणको काम अगाडि बढाइने पनि मेयर सिंहले जानकारी दिए ।