अहमदाबाद, गुजरात - भारतको अहमदाबादमा जारी ५३ औँ इसामे (ISAME) फोरमका अवसरमा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस नेपालका डिष्ट्रिक्ट गभर्नर लायन बिनय बस्नेतलाई मेम्बरसिप एचिभमेन्ट एवार्डबाट सम्मानित गरिएको छ । लायन्स इन्टरनेशनलका अन्तर्राष्ट्रिय अध्यक्ष लायन ए. पि. सिंहले उनलाई सो सम्मान प्रदान गर्नुभएको हो ।
डिष्ट्रिक्ट ३२५ एस नेपालले चालु कार्यकालमा सदस्यता विस्तारतर्फ उल्लेखनीय प्रगति गर्दै ७५ प्रतिशत रिक्रुटमेन्ट लक्ष्य सफलतापूर्वक पूरा गरेको उपलब्धिको कदरस्वरूप गभर्नर बस्नेतलाई उक्त अवार्ड प्रदान गरिएको हो । लायन्स इन्टरनेशनलले विश्वव्यापी रूपमा सञ्चालन गर्ने विभिन्न मानवीय सेवा कार्यक्रमलाई प्रभावकारी बनाउन सदस्यता विस्तारलाई महत्वपूर्ण सूचकका रूपमा लिने गर्दछ ।
अन्तर्राष्ट्रिय अध्यक्ष लायन ए. पि. सिंहले बस्नेतलाई सम्मान प्रदान गर्दै लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस नेपालले संगठन सुदृढीकरण, नयाँ सदस्य अभिवृद्धि तथा सेवा कार्यक्रमको विस्तारमा उदाहरणीय कार्य गरेको उल्लेख गर्नुभयो । उहाँले गभर्नर बस्नेतको नेतृत्व, टिमवर्क र समर्पणका कारण डिष्ट्रिक्टले उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभयो ।
सम्मान ग्रहणपछि गभर्नर लायन बिनय बस्नेतले यो उपलब्धि सम्पूर्ण डिष्ट्रिक्ट टिम, क्लब अध्यक्षहरू, सदस्यहरू तथा लायन्स परिवारको सामूहिक प्रयासको परिणाम भएको प्रतिक्रिया दिनुभयो । उहाँले आगामी दिनमा पनि लायन्स इन्टरनेशनलको मूल मन्त्र “WE SERVE” लाई आत्मसात् गर्दै समाजसेवामा अझ प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
५३ औँ इसामे फोरममा एशिया, दक्षिण एशिया, अफ्रिका तथा मध्यपूर्व क्षेत्रका विभिन्न देशका लायन्स नेतृत्वकर्ताहरूको सहभागिता रहेको छ । फोरममा नेतृत्व विकास, सदस्यता वृद्धि, सेवा परियोजना तथा संगठनात्मक सुदृढीकरणका विषयमा छलफल भइरहेका छन् ।
डिष्ट्रिक्ट ३२५ एस नेपालका लागि यो सम्मानले अन्तर्राष्ट्रिय स्तरमा नेपालको लायनवादको पहिचान थप मजबुत बनाएको विश्वास लिइएको छ ।