वीरगंज, बैशाख २४ ।
लकडाउनको कारण पकाहामैनपुर गाउँपालिका अन्तर्गत मुसहर बस्तीमा बसोबास गर्ने दलितहरु खान नपाएर भोकै बस्नु पर्ने समस्यामा परेका छन् ।
पकहामैनपुर गाउँपालिकाको वडा नं. ४ अन्तर्गत रहेको खेस्राहा टोलका ८० घर धुरी दलितहरु दैनिक ज्याला मजदुरी गरेर परीवारको जिविकोपार्जन गर्दै आएकोमा अहिले लकडाउन पछि बेरोजगार हुँदा उनीहरुलाई दैनिक छाक टार्न निकै समस्या परेको छ ।
समस्यामा परेका दलित परिवारलाई गाउँपालिकाले राहतको नाममा १० किलो चामल, २ किलो आलु, आधा किलो दाल आधा किलो प्याज, आधा किलो चना, १ किलो सोयाबिन, १ लिटर तेल, १ किलो नुन दिएको मुसहर बस्तीकी तारा देवीले बताउनु भयो ।
दलित बस्तीकी अर्की ७० वर्षिय बृद्धा बढिया देवीले गाउँपालिकाले यस्तो विपद्को घडिमा बृृद्ध भत्ता समेत नदिएको गुनासो गर्नु भयो । गाउँपालिकाले सुत्केरी महिलालाई समेत बेवास्ता गरेको सुत्केरी महिला लिलावति देवीले गुनासो गर्नुभयो ।
कोभिड १९ को संक्रमण नियन्त्रण तथा रोकथामकालागि नेपाल सरकारले दैनिक ज्यालादारी मजदुरी गर्ने, बिपन्न, गरिबलाई तथा असहाय नागरीकका लागि लकडाउनको समयमा खाद्यान्नको विशेष राहत प्याकेज पनि ल्याएको छ । जसको वितरणको जिम्मेवारी स्थानिय सरकारलाई दिईएको छ ।
नेपाल सरकारले बनाएको मापदण्ड अनुसार प्रति परीवार ३० किलो चामल , ५ किलो आलु, २ किलो दाल ३ किलो प्याज २ लिटर तेल, २ किलो नुन र ४ थान साबुन राहत प्याकेज मा दिनुपर्ने हो । तर यसमा पकहामैनपुर गाउँपालिकाले घोषित मापदण्डको आधा पनि नदिंदा बिपन्न परिवार प्रभावित भएका छन् ।