वीरगंज, माघ २६
भिजन मिडिया ईनकर्पोरेसन र एजुकेसन डटकमको संयुक्त आयोजनामा यही माघ २७ र २८ गते वीरगंजको नगरसभा गृहमा हुन गइरहेको स्टडी ईन नेपाल एजुकेशन फेयरको सम्पुर्ण तयारी पूरा भएको छ । नगरसभा गृहमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै सम्पुर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
एजुकेशन डटकमका प्रमुख कार्यकारी अधिकृत जीवन लामा गोलेको सभापतित्वमा भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले विदेशी कलेजका कन्सलटेन्सीहरूले विभिन्न आकर्षक नाराका साथै विभिन्न प्रलोभन देखाएर नेपाली विद्यार्थीहरूलाइ ठग्ने किसिमका शैक्षिक मेलाहरू भईरहेको बेला नेपालमै उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले आयोजित शैक्षिक मेलाले गरीब, विपन्न र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई पनि समेट्नुपर्नेमा जोड दिनुभयो ।
महंगो मुल्यमा विदेश जानुको सट्टा सस्तो र सर्व सुलभ मुल्यमा गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरू नेपालमै भएतापनि सबैको पहुँचमा पुग्न नसकेको हुँदा यस मेलाले सहयोग पुग्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।
"स्वदेशमै शिक्षा, सबैको ईच्छा" भन्ने नाराका साथ हुन गईरहेको २ दिने शैक्षिक मेलामा काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, वीरगन्ज पब्लिक कलेज, ठाकुरराम बहुमुखी क्याम्पस लगायतका २७ भन्दा बढी कलेजले विद्यार्थीहरूलाई निःशुल्क परामर्श दिने आयोजकले जनाएको छ ।
उच्च शिक्षा हासिल गर्न विदेशमा जानेहरूको संख्या बढ्दै गएको परिवेशलाई मध्यनजर गर्दै नेपालमै गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरू छन् भन्ने कुराको जानकारी गराउने अभिप्रायले शैक्षिक मेलाको आयोजना गरीएको शैक्षिक मेलाका व्यवस्थापक नविन कार्कीले बताउनुभयो ।
पत्रकार सम्मेलनमा प्रेस संगठन पर्साका संयोजक निरज पिठाकोटे, नेपाल पत्रकार महासंघ प्रदेश न.२ का सदस्य जगत राई, सन्तोष श्रेष्ठ लगायत पर्सेली पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
पत्रकार सम्मेलनको समापन गर्दै प्रमुख कार्यकारी अधिकृत जीवन लामा गोलेले मेलामा गरीब तथा विपन्न परिवारका विद्यार्थीहरूलाई उच्च शिक्षामा पुर्ण छात्रवृत्ति को समेत व्यवस्था गरिएको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनको सहजिकरण सञ्चारकर्मी सुर्य शुभचिन्तक ले गर्नुभएको थियो ।