वीरगंज, जेठ २८ । भारत रक्सौलस्थित इन्डियन आयल कर्पोरेसनमा इन्धन लोड गर्न जाने ट्याङकरबाट विभिन्न ब्रान्डका मदिरा पर्सा प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरीले बुधबार बिहान साढे ६ बजेको समयमा वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोक अगाडि ना २ ख ७३७५ नम्बरको ट्याङकर नियन्त्रणमा लिएर चेक गर्दा सिग्नेचर क्वार्टर ३३ पिस, ८८४८ भोड्का क्वार्टर २८ पिस, नेपाल आइस क्यान बियर २४ पिस र गोल्डेन ओक क्वार्टर ४८ पिस बरामद भएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी गौतम थापाले बताए ।
ट्याङकर चालक हेटौँडा उपमहानगरपालिका–१६ निवासी सन्दिप थिङ र सहचालक पदमबहादुर बुढाथोकीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो समयमा लकडाउनका कारण दुई देशको सिमानामा सुरक्षाकर्मीको निगरानी बढेको र अन्य सवारी साधनलाई नाका ओहोरदोहोरमा कडाइ गरिएकाले इन्धन बोक्ने ट्याङकरमा मदिरा राखेर भारततर्फ लगिएको जानकार बताउँछन् । यसरी लगिएको मदिरा बिहारमा दोब्बर मूल्यमा बिक्री हुने गरेको छ ।
