वीरगंज, जेठ २८ । वीरगंज महानगरपालिकाको कोरोना विपद् व्यवस्थापन कोषमा माछापुच्छ्रे बैंक वीरगंज शाखाले रु. १ लाख आर्थिक सहयोग गरेको छ ।
वीरगंज महानगरपालिकाले पिसिआर मेसिन, भिटिएम किट लगायत स्वास्थ्य सामग्री खरिद गर्नका लागि शुरु गरेको अभियानमा सहयोग स्वरुप बैंकले एक लाखको चेक हस्तान्तरण गरेको हो ।
बैंकका शाखा प्रबन्धक मनिष उपाध्यायको नेतृत्वमा गएको टोलीले महानगरका मेयर विजय सरावगीलाई आज उनको कार्यकक्षमै भेटेर चेक हस्तान्तरण गरेको छ ।
चेक हस्तान्तरण कार्यक्रममा बोल्दै प्रबन्धक उपाध्यायले महानगरपालिकाद्वारा शुरु गरिएको अभियानमा अन्य सम्पूर्ण सरोकारवाला निकाय, क्षेत्र र वित्तीय संस्थाहरुलाई पनि सहयोग गर्न आग्रह गरे । उनले कोरोना भाइरसको युद्धमा सबै मिलेर अगाडी बढे अभियानले सार्थकता पाउने बताए ।
त्यसैगरी मेयर सरावगीले माछापुच्छ्रे बैंकलाई धन्यवाद दिँदै महानगरले खरिद गर्न लागेको नयाँ पिसिआर मेसिनबाट छिट्टै परीक्षण शुरु हुने जानकारी दिए । चेक हस्तान्तरण कार्यक्रममा बैंकका अन्य कर्मचारिहरु ज्ञानेन्द्र गोस्वामी र किसन केसीको समेत उपस्थिति रहेको थियो ।
