वीरगंज, जेठ २८ । वीरगंज महानगरपालिकाको कोरोना विपद् व्यवस्थापन कोषमा नेपाल इन्भेष्टमेण्ट बैंकले रु. १ लाख आर्थिक सहयोग गरेको छ ।
वीरगंज महानगरपालिकाले पिसिआर मेसिन, भिटिएम किट लगायत स्वास्थ्य सामग्री खरिद गर्नका लागि शुरु गरेको अभियानमा हातेमालो गर्दै नेपाल इन्भेष्टमेण्ट बैंकले पनि सहयोग गरेको बैंकका वीरगंज शाखा प्रबन्धक रोशनभक्त श्रेष्ठले बताउनु भयो ।
वीरगंज बैंकर्स समूहका अध्यक्ष एवम् नेपाल इन्भेष्टमेण्ट बैंकका शाखा प्रमुख रोशनभक्त श्रेष्ठको नेतृत्वमा गएको टोलीले महानगरका मेयर विजय सरावगीलाई आज उनको कार्यकक्षमै भेटेर रु. १ लाखको चेक हस्तान्तरण गरेको हो ।
चेक हस्तान्तरण कार्यक्रममा बोल्दै प्रबन्धक श्रेष्ठले महानगरपालिकाद्वारा शुरु गरिएको अभियानमा अन्य सम्पूर्ण सरोकारवाला निकाय, क्षेत्र र वित्तीय संस्थाहरुलाई पनि सहयोग गर्न आग्रह गरे ।
उनले कोरोना भाइरसको युद्धमा सबै मिलेर अगाडी बढे अभियानले सार्थकता पाउने बताए ।
त्यसैगरी मेयर सरावगीले इन्भेष्टमेण्ट बैंकलाई धन्यवाद दिँदै महानगरले खरिद गर्न लागेको नयाँ पिसिआर मेसिनबाट छिट्टै परीक्षण शुरु हुने जानकारी दिए ।
