वीरगंज, असार १५ । वीरगंज महानगरपालिकाको कोरोना विपद् व्यवस्थापन कोषमा सिभिल बैंक लिमिटेडले रु. १ लाख आर्थिक सहयोग गरेको छ ।
वीरगंज महानगरपालिकाले नगरवासीहरुको कोरोना परीक्षण गर्न पिसिआर मेसिन, भिटिएम किट लगायत स्वास्थ्य सामग्रीहरु खरिद गर्नका लागि शुरु गरेको अभियानमा हातेमालो गर्दै सिभिल बैंक लिमिटेडले पनि आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग गरेको बैंकका वीरगंज शाखा प्रबन्धक अमर प्रसाद अमात्यले बताउनु भयो ।
सिभिल बैंक लिमिटेडका प्रदेश २ प्रमुख सुरज दाहालको नेतृत्वमा गएको टोलीले महानगरका मेयर विजय सरावगीलाई आज उनको कार्यकक्षमै भेटेर रु. १ लाखको चेक हस्तान्तरण गरेको हो ।
चेक हस्तान्तरण कार्यक्रममा बोल्दै प्रदेश प्रमुख दाहालले महानगरपालिकाद्वारा शुरु गरिएको अभियानमा अन्य सम्पूर्ण सरोकारवाला निकाय, क्षेत्र र अन्य वित्तीय संस्थाहरुलाई पनि सहयोग गर्न आग्रह गरे ।
उनले कोरोना भाइरसको युद्धमा सबै मिलेर अगाडी बढे अभियानले सार्थकता पाउने बताए ।
त्यसैगरी मेयर सरावगीले पनि सिभिल बैंकलाई धन्यवाद दिँदै महानगरले खरिद गरेको नयाँ पिसिआर मेसिनबाट सफलतापूर्वक परीक्षण शुरु भइसकेको र छिट्टै थप भिटिएम किट खरिद गर्ने तयारी भइरहेको जानकारी दिनु भयो ।
