वीरगञ्ज - वीरगञ्जमा हिन्दु पत्रकारहरूको छुट्टै सङ्गठनका रूपमा हिन्दु पत्रकार संघ नेपाल गठन गरिएको छ। हिन्दु धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्दै पत्रकारितामार्फत हिन्दु समुदायको अधिकार र आवाजलाई मजबुत बनाउने उद्देश्यका साथ संघको स्थापना भएको बताइएको छ।
नवगठित संघका पदाधिकारीहरूका अनुसार धर्मनिरपेक्षताको नाममा हिन्दु धर्ममाथि हुने प्रहारको विरोध गर्दै सनातन मूल्य-मान्यताको रक्षा गर्नु संघको प्रमुख लक्ष्य रहनेछ।
वीरगञ्जस्थित क्लासिक ब्यानक्वेटमा आइतबार आयोजित पत्रकारहरूको विशेष भेलाबाट सञ्चारकर्मी राजन रौनियारको अध्यक्षतामा संघको समिति गठन गरिएको हो। संघको उपाध्यक्षमा विमला गुप्ता र विनोद पटेल, सचिवमा राजकुमार सर्राफ तथा कोषाध्यक्षमा आनन्द पटेल चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा अभिलाष गुप्ता, अर्जुन चौधरी, अनिल ओझा, सन्तोष कुशवाहा, सञ्जय कुशवाहा, रवि बर्नवाल, राकेश साह, राजु बैठा, रश्मीराज भण्डारी, अजय चौरसिया र त्रिलोकी पटेल लगायतका पत्रकारहरू रहेका छन्।
संघले सल्लाहकार समिति पनि गठन गरेको छ। सल्लाहकार समितिमा निरञ्जन मिश्र, रितेश झा, आरोहन साह, सोनालाल चौरसिया, कन्हैया गुप्ता र सन्तोष साह रहेका छन्।
भेलालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारीले हिन्दु पत्रकार संघ नेपालको गठनलाई स्वागत गर्दै यसले पत्रकारिताको विविधतालाई थप मजबुत बनाउने र सनातन मूल्यहरूको संरक्षणमा योगदान पुग्ने कुरामा जोड दिएका थिए, पूर्व केन्द्रीय सचिव दीपेन्द्र चौहानले हिन्दु संस्कृतिको संरक्षणमा पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै नवगठित संघलाई शुभकामना दिएका थिए।
नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जाराले संघले मधेस प्रदेशमा हिन्दु समुदायको आवाजलाई बलियो बनाउने विश्वास व्यक्त गरेका थिए, प्रेस चौतारी पर्साका अध्यक्ष निरञ्जन मिश्रले हिन्दु धर्ममाथि हुने आक्रमणविरुद्ध संघले प्रभावकारी भूमिका खेल्ने अपेक्षा व्यक्त गरेका थिए।
कार्यक्रममा उपस्थित वरिष्ठ पत्रकार रामकुमार सर्राफ तथा नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य विजय कुशवाहाले संघको स्थापनालाई ऐतिहासिक कदमको रूपमा वर्णन गर्दै यसले पत्रकारहरूबीच एकता र हिन्दु धर्मको संरक्षणमा योगदान पुर्याउने धारणा व्यक्त गरेका थिए।
नवगठित संघका अध्यक्ष राजन रौनियारले पत्रकारिताको मर्यादा कायम राख्दै हिन्दु धर्म र संस्कृतिको संरक्षणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका थिए।