वीरगंज, श्रावण २९ । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले वीरगंजको घण्टाघरस्थित विपी उद्यानमा अन्य प्रयोजनका कुनैपनि निर्माणका कार्यहरु नगर्न, नगराउन वीरगंज महानगरपालिका लगायतका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
विपी उद्यान बनाउनका लागि वीरगंज महानगरपालिकाले खरीद गरेको करीब १० बिघा जग्गामा वीमनपाले सवारी पर्किङ्गस्थल बनाउन ठेक्का दिएपछि सो कार्य रोक्न वीरगंज महानगरपालिका - २ हरपतगंज निवासी धिरज गुप्ताले उच्च अदालतको अस्थायी इजलास वीरगंजमा उत्प्रेषण परमादेश मुद्दा दिएका थिए ।
आज दुवै पक्षको बहसपछि न्यायाधीश कृष्णप्रसाद थापा र जनक पाण्डेको संयुक्त इजलासले विपक्षीको नाममा अन्तरिम आदेश जारी गरेको हो । आदेशमा विपी उद्यानबाहेक सो जग्गामा अन्य कुनै काम नगर्न भनिएको छ ।
यसअघि, यसै मुद्दामा उच्च अदालतका न्यायाधीश शान्ता सेढाई सापकोटाको एकल इजलासले अल्पकालीन आदेश जारी गरेको थियो ।
निवेदक गुप्ताको तर्फबाट वरिष्ठ अधिवक्ताहरु देवेन्द्रलाल नेपाली, दिनेश त्रिपाठी, अधिवक्ताहरु रामनारायणप्रसाद कुर्मी, पन्नालाल गुप्ता र शैलेन्द्र चौरसिया तथा विपक्षी महानगरपालिकालगायतका तर्फबाट अधिवक्ताहरु कमलमोहन पोखरेल, विनय सिंह र सालिकराम प्रसादले बहस गरेका थिए ।
