वीरगन्ज - वीरगन्ज महानगरपालिकाका कार्यवाहक प्रमुख ईम्तियाज आलमले निजी विद्यालय र अभिभावकबीच उत्पन्न हुने जुनसुकै समस्याको समाधानका लागि महानगरपालिका सदैव तयार रहेको बताउनुभएको छ। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साद्वारा वीरगन्जको होटल भिस्वामा आयोजित ‘एसईई २०८२ एक्सीलेन्स अनर अवार्ड’ कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो। उक्त समारोहमा एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्न सफल नेशनल प्याब्सनसँग आबद्ध २० विद्यालयका ५६ जना विद्यार्थीहरूलाई भव्य सम्मान गरिएको थियो।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै कार्यवाहक नगर प्रमुख आलमले विभिन्न समयमा विद्यालय व्यवस्थापन र अभिभावकबीच विभिन्न विषयमा विवाद हुने गरेको स्मरण गर्नुभयो। रकमकै अभावका कारण महानगरभित्रका कुनै पनि विद्यार्थी शिक्षाबाट वञ्चित हुन नहुनेमा जोड दिँदै उहाँले अभिभावकले विद्यालयको परिस्थिति र विद्यालयले अभिभावकको पीडा एवं समस्या बुझ्नुपर्ने औंल्याउनुभयो। अनि मात्र विद्यार्थी, विद्यालय र अभिभावक सबै मिलेर महानगरको शिक्षा क्षेत्रमा फलदायी योगदान दिन सकिने उल्लेख गर्दै उहाँले जुनसुकै समस्या समाधानका लागि पनि महानगरपालिका आफ्नो निष्पक्ष र उत्तरदायी भूमिका निर्वाह गर्न तयार रहेको स्पष्ट पार्नुभयो।
समारोहमा पर्सा जिल्लाभरिमै सबैभन्दा उत्कृष्ट नतिजा अर्थात् ४ जीपीए ल्याउन सफल जि.एच.पी. विद्यालयका ६ जना र कादम्बरी स्कुलका २ जना विद्यार्थीका साथै सम्बन्धित विद्यालयहरूलाई विशेष सम्मान गरिएको थियो। यसैगरी, एसईई २०८२ मा उत्कृष्ट सफलता हासिल गर्ने कुल ५६ जना छात्र तथा छात्राहरूलाई खादा, टीका र सम्मानपत्र प्रदान गरिएको थियो। सम्मानित विद्यार्थीहरूको उपलब्धिको प्रशंसा गर्दै उपस्थित अतिथिहरूले यो सफलता कडा मेहनत, अनुशासन र गुणस्तरीय शिक्षाको प्रतिफल भएको बताएका थिए।
कार्यक्रमका अध्यक्ष एवं नेशनल प्याब्सन नगर कार्य समिति पर्साका अध्यक्ष जियालाल गुप्ताले विद्यार्थीहरूको उत्कृष्ट नतिजाले निजी विद्यालयप्रतिको जनविश्वास अझ सुदृढ बनाएको दाबी गर्नुभयो। विद्यार्थीहरूको सफलता विद्यालय, शिक्षक, अभिभावक र स्वयं विद्यार्थीको संयुक्त मेहनतको परिणाम भएको बताउँदै उहाँले आगामी दिनमा पनि गुणस्तरीय, व्यावहारिक र प्रतिस्पर्धात्मक शिक्षामा जोड दिँदै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाउनुभयो। नेशनल प्याब्सन पर्साले आगामी वर्षहरूमा पनि यस्ता प्रेरणादायी सम्मान कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेको छ।
नेशनल प्याब्सन नगर कार्य समिति पर्साका अध्यक्ष जियालाल गुप्ताको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेशनल प्याब्सनका संस्थापक सदस्य रामबिनय चौरसिया, सचिव सुशील भट्टराई, केन्द्रीय सदस्य अर्बिन्द सिंह, पर्सा हिसानका अध्यक्ष मुकेश गुप्ता, प्याब्सन नगर अध्यक्ष राहुल श्रीवास्तव लगायत विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।