वीरगञ्ज । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगञ्ज पब्लिक कलेजले आयोजना गरेको ‘युथ लिडरशिप टक’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा युवा उद्यमी, समाजसेवी तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा युवा उद्यमी रोशन गुप्ताले व्यवसाय स्थापना, सञ्चालन तथा विस्तारका क्रममा आफूले भोगेका अनुभव युवामाझ साझा गरेका थिए। उनले व्यवसाय सुरु गर्दा आउने चुनौती, जोखिम व्यवस्थापन, निरन्तर मेहनत तथा अवसर पहिचान गर्ने क्षमता सफल उद्यमी बन्नका लागि महत्वपूर्ण हुने बताए।
गुप्ताले युवाहरूले व्यवसाय सुरु गर्न ठूलो लगानी वा सबै परिस्थिति अनुकूल हुने समयको प्रतीक्षा गर्नुभन्दा उपलब्ध स्रोत र अवसरको सही सदुपयोग गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। व्यवसायको सुरुवाती चरणमा कठिनाइ र असफलता आउन सक्ने भए पनि त्यसबाट सिक्दै निरन्तर अघि बढ्न सके सफलता हासिल गर्न सकिने उनको भनाइ थियो।
आफ्नो व्यावसायिक यात्राका अनुभव सुनाउँदै उनले युवामा आत्मविश्वास, नयाँ सोच, जोखिम लिन सक्ने क्षमता र निरन्तर प्रयास गर्ने बानी आवश्यक रहेको बताए। आफ्नो रुचि र क्षमतालाई पहिचान गरी त्यसलाई उद्यमशीलतासँग जोड्न सके युवाहरूले रोजगारी खोज्ने मात्र नभई अरूलाई समेत रोजगारी दिन सक्ने उनको धारणा थियो।
कार्यक्रममा मानवसेवा आश्रम वीरगञ्जका संयोजक देवेश गुप्ताले उद्यमशीलता र समाजसेवालाई सँगसँगै अघि बढाउन युवाहरूलाई आग्रह गरे। व्यक्तिगत सफलता मात्र पर्याप्त नहुने भन्दै उनले आफूले हासिल गरेको ज्ञान, सीप र स्रोतलाई समाजको हितमा प्रयोग गर्न सके सकारात्मक परिवर्तन ल्याउन सकिने बताए।
‘आफ्नो काम र व्यवसायसँगै समाजप्रतिको जिम्मेवारी पनि निर्वाह गर्नुपर्छ’ भन्ने धारणा राख्दै उनले युवाहरूलाई सामाजिक कार्यमा सक्रिय हुन आग्रह गरे। समाजमा रहेका समस्या समाधान गर्न सरकार वा कुनै एक संस्थाको मात्र भर पर्नुभन्दा युवाहरू स्वयं जिम्मेवार भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
युवाहरूको ऊर्जा, सिर्जनशीलता र नयाँ सोचलाई समाज परिवर्तनमा प्रयोग गर्न सके वीरगञ्जसहित समग्र मधेशमा सकारात्मक परिवर्तन ल्याउन सकिने उनले बताए।
कार्यक्रममा सहभागी युवाहरूले उद्यमशीलता, नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा व्यक्तिगत सफलताका विषयमा वक्ताहरूसँग अन्तरक्रिया गरेका थिए। कार्यक्रमको सहजीकरण कुणाल कार्कीले गरेका थिए।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रमले युवाहरूलाई उद्यमशीलता, नेतृत्व विकास र सामाजिक सेवाप्रति थप प्रेरित गर्ने अपेक्षा गरिएको छ।