वीरगञ्ज - नेकपा एमाले वीरगञ्ज महानगर कमिटीको संयोजकमा सुन्दर राउत कुर्मी नियुक्त भएका छन्।
नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्माले बुधबार कुर्मीलाई वीरगञ्ज महानगर कमिटीको संयोजकमा नियुक्त गरेका हुन्।
भदौ २ गते सम्पन्न एमाले पर्सा जिल्ला कमिटीको बैठकको निर्णयअनुसार रिक्त रहेको महानगर कमिटीको अध्यक्ष र उपाध्यक्ष पदमा पदपूर्ति गर्नुपर्ने भएपछि आवश्यक प्रक्रिया अघि बढाइएको थियो। सोही निर्णयअनुसार महानगर कमिटीको संयोजकको जिम्मेवारी कुर्मीलाई दिइएको जिल्ला अध्यक्ष शर्माले जानकारी दिए।
महानगर कमिटीलाई थप व्यवस्थित र सक्रिय बनाउँदै पार्टीका संगठनात्मक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने जिम्मेवारीसहित कुर्मीलाई संयोजकको जिम्मेवारी दिइएको एमाले पर्साले जनाएको छ।
नवनियुक्त संयोजक कुर्मीले पार्टीको संगठन सुदृढीकरण, कार्यकर्ताबीचको समन्वय तथा महानगरमा पार्टीका गतिविधिलाई थप प्रभावकारी बनाउने गरी काम गर्ने अपेक्षा गरिएको छ।