वीरगञ्ज - वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको सचिवालयले ‘युथ अफ वीरगञ्ज’ नामक फेसबुक पेजबाट प्रकाशित ‘वीरगञ्जलाई मिनी पाकिस्तान बनाउने सपना चकनाचुर’ शीर्षकको सामग्रीप्रति आपत्ति जनाउँदै त्यसलाई भ्रामक तथा साम्प्रदायिक आक्षेपयुक्त प्रचारको संज्ञा दिएको छ।
उपप्रमुखको कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उक्त सामग्रीले तथ्यलाई तोडमोड गरी उपप्रमुख आलमलाई धार्मिक विषयसँग जोडेको दाबी गरिएको छ। सचिवालयका अनुसार यस्तो प्रचारले समाजमा द्वेष, घृणा र भ्रम फैलाउने तथा साम्प्रदायिक सद्भावमा असर पार्ने जोखिम रहेको छ।
बजेटमा सबै समुदायलाई समेटिएको सचिवालयको दाबी:
सचिवालयले उपप्रमुख आलमले कार्यवाहक नगर प्रमुखको जिम्मेवारी सम्हाल्दा हिन्दू, मुस्लिम, बौद्ध, नेवारलगायत सबै समुदायलाई समेटेर आवश्यकता र मागका आधारमा बजेट विनियोजन गरिएको दाबी गरेको छ।
आफ्नो दाबीको आधारका रूपमा सचिवालयले विभिन्न धार्मिक तथा सांस्कृतिक संरचनासम्बन्धी योजनाहरूको सूचीसमेत सार्वजनिक गरेको छ।
विज्ञप्तिअनुसार बजेटमा निम्न योजनाहरू समावेश छन् :
१. वडा नं. ३२: छठघाट बाउन्ड्री वाल निर्माण
२. वडा नं. १: श्मशान घाट बाउन्ड्री वाल तथा बोरिङ जडान
३. वडा नं. ३१: मन्दिर निर्माण
४. वडा नं. २०: रामजानकी मन्दिरको पर्खाल निर्माण
५. वडा नं. १५: अधुरो मन्दिर निर्माण
६. वडा नं. १६: भुटनदेवीमा पर्यटकीय पार्क निर्माण
७. वडा नं. १९: शाही आश्रम निर्माण
८. वडा नं. १६, नगवा: मन्दिर सौन्दर्यीकरण
९. वडा नं. २३: रामजानकी मन्दिर सौन्दर्यीकरण
१०. वडा नं. ३१: रामजानकी मन्दिर सौन्दर्यीकरण तथा बाउन्ड्री वाल
अन्य सांस्कृतिक योजना: नेवारी संस्कृतिको झल्को दिने मूर्ति तथा इको पार्कमा वैद्यको मूर्ति निर्माण
यी योजनाहरू बजेटमा समावेश रहेको सचिवालयले जनाएको छ।
‘विशेष समुदायलाई लक्षित गरिएको’ आरोप:
सचिवालयले ‘युथ अफ वीरगञ्ज’ ले सामाजिक सद्भाव बिगार्ने र हिंसा फैलाउने उद्देश्यले तथ्यलाई बङ्ग्याएर एउटा विशेष समुदायलाई लक्षित गरेको आरोप लगाएको छ।
कानुनी उपचारमा जाने चेतावनी:
सचिवालयले अपुष्ट तथा भ्रामक सामग्रीमार्फत साम्प्रदायिक सद्भाव भड्काउने प्रयास गर्ने ‘युथ अफ वीरगञ्ज’ विरुद्ध कडा कानुनी उपचारमा जाने चेतावनी दिएको छ।
उपप्रमुख सचिवालयले बजेट विनियोजनमा सबै जातजाति, धर्म तथा संस्कृतिलाई समेटिएको दाबी गर्दै आफूविरुद्ध फैलाइएको भनिएको भ्रमको खण्डन गरेको हो।