वीरगंज, असार ४ । वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले आज वीरगंजबाट प्रकाशित हुने दैनिक पत्रिकाहरुका प्रकाशक, सम्पादकहरुसँग आगामी बजेट नीति तथा कार्यक्रमको बारेमा छलफल कार्यक्रमको आयोजना गर्नुभएको छ ।
कार्यक्रममा मेयर सरावगीले वीरगंज महानगरपालिकाले स्थानिय पत्रपत्रिकाहरुसँग सहकार्य गर्न तयार रहेको धारणा राख्नुहुँदै पत्रिका संचालकहरुको पीडा आफुलाई थाहा भएकोले महानगरपालिकाको स्रोत र साधनले भ्याएसम्म दैनिक पत्रपत्रिकालाई सहयोग गर्न तयार रहेको र त्यसको लागि नीति बनाएर नै अघि बढ्न सबैसँग छलफल गरिरहेको समेत बताउनु भयो ।
वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा, उपमेयर शान्ति कार्की, प्रमुख प्रशासकीय अधिकृत प्रदिप कुमार निरौला, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, वीरगंज महानगरपालिकाका प्रेस सल्लाहकार एवं एकोराबका महासचिव गोविन्द देवकोटा, प्रेस संगठन प्रदेश नम्बर २ का संयोजक लालबाबु शेष, आम संचार मंच फोमनका अध्यक्ष महेशचन्द्र गौतम लगायत वीरगंजबाट प्रकाशित हुने दैनिक पत्रिकाहरुका प्रकाशक एवं सम्पादकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

