वीरगंज, असार ५ । स्व.बिन्दु पाण्डे स्मृति पत्रकारिता पुरस्कार २०७७ बाट वीरगंजकी क्रियाशील महिला पत्रकार विमला गुप्ता पुरस्कृत भएकी छन् ।
स्व.बिन्दु पाण्डे स्मृति प्रतिष्ठानको निर्णय अनुसार शुक्रवार नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा सम्मान कार्यक्रमको आयोजना गरी उनलाई पुरस्कृत गरिएको हो ।
प्रतिष्ठानका संस्थापक वरिष्ठ उपाध्यक्ष शंकर खतिवडा, नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहान, उपाध्यक्ष केसी लामिछाने, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारालगायतले पत्रकार गुप्तालाई फूलमाला, अबीर र खाँदा लगाएर प्रमाणपत्रसहित पुरस्कृत गरेका थिए ।
१२ हजार रुपैयाँ राशिको यो चौथो संस्करणको पुरस्कार हो । यसअघि महिला पत्रकार माधुरी महतो, कविता खड्का, लक्ष्मी खरेल पुरस्कृत भइसकेका छन् ।
तत्कालीन उत्थान साप्ताहिककी सम्पादक बिन्दुदेवी पाण्डेको चार वर्ष पहिले निधन भएपछि उनको स्मृतिमा प्रत्येक वर्ष एकजना क्रियाशील महिला पत्रकारलाई प्रदान गर्न यो पुरस्कार स्थापना गरिएको हो ।
प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष खतिवडाको संयोजकत्वमा गठित निर्णायक समितिले वीरगंजका ३२ जना महिला पत्रकारहरुबाट पुरस्कारको लागि विमला गुप्ताको नाम छनौट गरेको थियो । सम्मान कार्यक्रम प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारीको अध्यक्ष्ता एवं सहजीकरणमा सम्पन्न भएको थियो ।

