वीरगंज, असार १२ । वीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष ०७७/०७८ मा स्थानिय स्तरका विद्युतीय सञ्चार माध्यमहरुकालागि लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने भएको छ ।
सञ्चार क्षेत्रलाई स्थानीय भाषा संस्कृतीको प्रवद्र्धनका लागि, सामाजिक कुप्रथा अन्त्यका लागि, महिला तथा बालबालिकाको सशक्तिकरण र जातीय छुवाछुत सामाजिक अपराध हो भन्ने स्थापित गर्न आवश्यक लोक कल्याणकारी विज्ञापन उपलब्ध गराईने भएको हो ।
महानगरपालिकाले असार १० गते प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट सार्वजनिकीकरण कार्यक्रममा पछाडि पारिएका सीमान्तकृत समुदायलाई मूल प्रवाहीकरणमा ल्याई समृद्ध महानगर निर्माणमा संचार माध्यमको सहभागिताले महत्वपूर्ण भूमिका खेल्ने भएकोले स्थानीय विद्युतीय सञ्चार माध्यमहरुलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउनुका साथै जनचेतनामूलक कार्यक्रम उत्पादन र प्रसारणमा समेत सहकार्य गर्ने नीति लिएको वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले जानकारी दिनुभयो ।
समृद्ध महानगरकालागि सञ्चार माध्यमको सहभागिता अपरिहार्य रहेको पनि उहाँले बताउनुभयो ।