वीरगंज, श्रावण १० । वीरगंज महानगरपालिकाले अघि सारेको एक घर एक पिसिआर परिक्षण अभियान आईतवारदेखि शुरु हुने भएको छ ।
पर्सा जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढीरहेको अवस्थामा र समुदायस्तरमै संक्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालय पर्साले अनिश्चितकालसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञा अवधिमा पनि कोरोना संक्रमणलाई न्युनिकरण गर्नका लागि बृहत् परीक्षणलाई तिब्रता दिने प्रशासनले निर्णय गरेको थियो ।
जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साको निर्णय अनुसार आईतवार दिउँसो १ बजेदेखि उक्त अभियानको शुभारम्भ हुने भएको वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले जानकारी दिनुभयो ।
मेयर सरावगीले वीरगंज महानगरपालिकाको संयोजकत्वमा नेपाली सेना, नेपाल प्रहरी, जिल्ला जनस्वास्थ्य कार्यालय लगायतको सहयोगमा वीरगंज महानगरपालिका वडा नं ९ को रेल्वे माविबाट शुभारम्भ हुने बताउनुभयो ।
उक्त अभियान वीरगंज महानगरपालिकाका ३२ वटै वडामा सञ्चालन गरिने उहाँको भनाई छ । साथै यस कार्यमा सहयोग गर्न पनि सम्पुर्ण संघ संस्था, नगरवासी, वडावासीहरुमा उहाँले अपिल गर्नुभएको छ ।