युवा उद्यमी सौरभ ज्योति नेपालको पुरानो औद्योगिक घराना ज्योति समूहका निर्देशक हुन् । नेपाल उद्योग वाणिज्य महासंघमा १२ वर्षदेखि कार्यकारिणी समितिमा रहेका ज्योतिले अघिल्लो कार्यकालमा कर तथा राजस्व समिति र हालको कार्यकालमा बैंक, वित्त तथा इन्स्योरेन्स समिति सभापतिका रूपमा काम गरिसकेका छन् । नेपाल युवा उद्यमी मञ्च र सार्क युवा उद्यमी मञ्चको समेत नेतृत्व सम्हालिसकेका ज्योतिसँग नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा उनको उम्मेदवारी, एजेण्डालगायतका विषयमा गरिएको कुराकानी :
नेपाल उद्योग वाणिज्य महासंघमा तपाईंको उम्मेदवारी एसोसिएटमै किन ?
महासंघमा मैले चार कार्यकाल अर्थात् १२ वर्ष अवधिमा विभिन्न समितिमा रहेर काम गरिसकेको छु । यसका साथै नाडा, नेपाल युवा उद्यमी मञ्चलगायत विभिन्न अरू संस्थामा पनि संस्थागत काममा झन्डै २० वर्षको अनुभवी छु । उद्योग वाणिज्य महासंघ भनेको निजी क्षेत्रको छाता संगठन हो । समग्र निजी क्षेत्रको हितका लागि काम गर्ने संस्था हो । विश्वव्यापी रूपमा परेको कोभिडको प्रभावले अर्थतन्त्र दयनीय अवस्थामा छ । यसलाई कसरी सहज अवस्थातर्फ ल्याउने भन्नेमा हामीले धेरै काम गर्नुपर्नेछ । महासंघलाई नतिजामुखी, व्यावसायिक र व्यवसायमुखी बनाएर लैजाने हाम्रो मुख्य एजेन्डा हो ।
एसोसिएट उपाध्यक्ष भएपछि के गर्ने भन्ने योजना बनाउनुभएको छ ?
एसोसिएट उपाध्यक्ष जितेपछि मुख्य जिम्मेवारी रोजगारदाता परिषद्को सभापतिको जिम्मेवारी हुन्छ । रोजगारदाता भनेको पूरा निजी क्षेत्रलाई प्रभाव पार्ने क्षेत्र हो । लगानीको वातावरण, श्रम ऐन, सम्बन्धित निकाय, ट्रेड युनियन सबैलाई मिलाएर विनविनको अवस्थामा जानुपर्छ । यदि त्यसो गर्न सकिएन भने लगानी बाहिर अझै जान्छ भने नेपालमा लगानी ल्याउन कठिन हुन्छ । नेपालमा लगानी रोजगारी र आर्थिक गतिविधि सञ्चालनका क्षेत्रमा रोजगारदाता परिषद् समितिको निकै ठूलो भूमिका हुन्छ । लगानीको वातावरण बनाउन, रोजगारी सिर्जना र उद्यमशीलता विकासमा जोड दिन्छौँ । भविष्यमा हामी स्वयम् आत्मनिर्भर बन्न र आयात घटाउन जोड दिने गरी काम गर्नेछौँ । आयात घटाउनका लागि निर्यात बढाउनु जरुरी छ । त्यसका लागि नीतिगतदेखि व्यावसायिक सबै क्षेत्रबाट काम गर्नुपर्ने हो, त्यसका लागि हामी कार्ययोजनासहित आउनेछौँ ।
तपाईंको जितको बलियो आधार के हो ?
मेरो जितको सबैभन्दा ठूलो आधार नै विश्वास हो । मेरो टिमबाट जुन सहयोग, माया र आशीर्वाद पाएको छु त्यो मेरो कामबाट नै पाएको हुँ । चुनावमा बोल्न त सजिलो छ, तर काम गरेर देखाउन कठिन छ । मैले महासंघमा जीवनको महत्वपूर्ण १२ वर्ष समय बिताएको छु । विभिन्न समितिको सभापतिको भूमिकामा रहेर काम गरेको छु । बैंक–वित्तीय समितितर्फको सभापतित्व वर्तमान कार्यसमितिमा गरेको छु । मेरो काम, योग्यता र टिमवर्क नै जितको मुख्य आधार हो । १९ जनाको टिममा आफ्नो–आफ्नो क्षेत्रका विज्ञहरू छन् । नेपालको अर्थतन्त्र विकासमा निजी क्षेत्र मेरुदण्डका रूपमा रहेको छ । त्यसको विकासमा हामी फोकस हुनुपर्छ । हिजोका दिनमा मैले गरेका कामले मलाई एसोसिएट उपाध्यक्ष बनाउन सहयोगी बन्नेछन् ।
आफ्नो टिमको बलियो र कमजोर पक्ष के पाउनुभयो ?
सुरुमा बलियो पाटोको कुरा गर्दा हाम्रो टिम डाइभर्स र अनुभवी छ । १९ जनाको टिममा ३ जना नयाँ र एकदमै युवा साथीहरू छन् । अरू सबै महासंघको कुनै न कुनै भूमिकामा रहेर काम गरेका साथीहरू छन् । व्यवसायको प्रकृति पनि सबै साथीहरूको डाइभर्स खालको छ । समग्रमा भन्नुपर्दा निजी क्षेत्रको हकहितका लागि लड्न सक्ने व्यक्तिहरू छन् । हामीले एसोसिएटतर्फ हरेक तीन महिनामा ९ सय २६ कम्पनी र सदस्यहरूका समस्या के हुन्, कसरी अगाडि बढ्न सकिन्छ भनेर सधैं सम्पर्कमा रहने योजना बनाएका छौँ । टिमवर्क राम्रो छ । अर्काे कमजोर पक्ष भनेको हामीलाई आफ्नो क्षेत्रको विषयमा पर्याप्त ज्ञान छ, तर महासंघअन्तर्गत पनि धेरै क्षेत्रहरू छन्, जसमा थप जानकारी लिन, बझ्न बाँकी छ । यस्ता क्षेत्रमा हामीले सल्लाह लिएर अगाडि बढ्नेछौँ ।
एसोसिएटमा प्रोक्सी किनबेच हुन्छ भनिन्छ नि ?
एसोसिएटमा एउटा पनि प्रोक्सी किनबेच हुँदैन, किनभने हरेक कम्पनीहरू व्यावसायिक संस्था हुन् । कम्पनीलाई नेतृत्व गरेको व्यक्तिले आफ्नो बुद्धि–विवेक प्रयोग गरेर भोट हाल्ने हो । सकेसम्म आफैं आएर भोट हाल्ने र जो आउन सक्दैन उसले आफ्नो विश्वासको व्यक्तिलाई पठाएर सही नेतृत्व छनोट गर्ने हो । प्रोक्सी किनबेचको कुरा हल्लामात्रै हो, सबै कम्पनी नेतृत्वले पटक–पटक सोचेर मात्रै भोट खसाउँछन् । सही नेतृत्वका लागि नै भोट खसाउने हो ।
महासंघको प्राथमिकता उत्पादनमूलक क्षेत्रलाई बढावा दिने, रोजगारी सिर्जना गर्ने हो; तर तपाईं आफैं ट्रेडिङ क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुन्छ । अहिलेको कठिन परिस्थितिमा उत्पादनमूलक क्षेत्रबाट रोजगारी सिर्जनाको सम्भावना के देख्नुहुन्छ ?
ज्योति समूहको तीनवटा विङ छ– औद्योगिक, सेवा र ट्रेडिङ क्षेत्र । नेपालको सबैभन्दा पुरानो फलामे उद्योग हिमाल आइरन, जुन हाम्रै समूहको हो । अक्सिजन प्लान्ट सबैभन्दा पुरानो उद्योग हो, जुन अहिले पनि चलेको छ । उद्योग भनेको हाम्रो जग हो । उद्योगका साथसाथै हामी ट्रेडिङ पनि गर्छाैं । हाम्रो समूह डाइभर्स छ । ट्रेडिङ किन बढ्यो र उद्योगहरू किन घटे भन्ने सवालमा गहिराइसम्म पुगेर समस्याको पहिचान हुनु जरुरी छ । ट्रेडिङमा रिक्स कम र रिवार्ड बढी हुने नीति आएपछि व्यवसायीहरू अवश्य ट्रेडिङमै लाग्छन् । उद्योगमा रिक्स बढी तर रिवार्ड कम भयो । श्रम ऐन, औद्योगिक व्यवसाय ऐन तथा अन्य आवश्यक ऐनमार्फत उत्पादनमूलक उद्योगलाई इन्सेन्टिभ दिनुपर्छ । पूर्वाधार, ट्याक्स, प्रशासनिक कार्य सहजीकरण गरेर उत्पादनमा सहयोग नीतिगत रूपबाटै गर्नुपर्छ । ट्रेडिङले पनि रोजगारी त सिर्जना गर्छ, तर बढी भ्यालु एडिसन औद्योगीकरणबाट लिन सकिन्छ ।
एसोसिएटतर्फबाट तपाईं उपाध्यक्ष भए पनि वा नभए पनि आगामी कार्यसमितिले गर्नैपर्ने कामहरू के–के हुन् ?
महासंघले सरकारसँग सहकार्य गरेर काम गर्ने हो । निजी क्षेत्रको हित भनेको सम्पूर्ण समाज र राष्ट्रको हित हो । महासंघ भनेको छाता संगठन हो । जित भयो भने नेतृत्व गर्ने हो, यदि हार भएको अवस्थामा मैले १२ वर्षसम्म बिताएको संस्था हो । आफ्नो अनुभव, सल्लाह, माया, विज्ञता प्रदान गरेर अगाडि बढ्न सहयोग गर्ने हो । हाम्रो टिमले १० वर्षको आर्थिक एजेन्डा बनाएर अगाडि बढ्ने योजना तय गरेका छौँ । आत्मनिर्भर हुन कृषि, उद्योग, डिजिटल अर्थतन्त्र, पर्यटन, हाइड्रोलगायतका कुन क्षेत्रमा फोकस हुने र हाम्रो समृद्धिको बाटो के हुने भनेर कार्ययोजना बनाएर नै अगाडि बढ्दै छांै ।
महासंघको चुनावमा राजनीतिक चलखेल हुने, आर्थिक स्रोतसाधनको पनि व्यापक प्रयोग हुने परम्परा छ, यसले महासंघको नेतृत्व योग्यभन्दा पनि संरक्षणतर्फ जाने देखिएन र ?
महासंघ भनेको व्यावसायिक संस्था हो, राजनीतिक संस्था होइन । राजनीतिक चलखेल महासंघमा न्यून गर्नुपर्छ भन्ने हाम्रो प्रमुख एजेन्डा हो । योग्य व्यक्ति पदमा आउनुपर्छ । कोही दोस्रो व्यक्ति म जुन पदमा लड्दै छु त्यसका लागि योग्य छ भने म पद छोड्न तयार छु । म र मजस्ता व्यवसायीको हितमा काम गर्न सक्ने व्यक्ति हुनुपर्छ । योग्यताका आधारमा नेतृत्व आएमा सम्पूर्ण निजी क्षेत्र सफल हुन्छ । त्यसका लागि महासंघमा राजनीति कम गर्नुपर्छ । जब राजनीति बढी चल्छ त्यहाँ योग्य व्यक्ति छायामा पर्छ । योग्य व्यक्ति पदमा ल्याउन हाम्रो टिम लागिपरेको छ । महासंघमा राजनीति टाढा राख्न एउटा उम्मेदवार एउटा व्यवसायीको मात्रै नभएर सबै व्यवसायीको सोचमा परिवर्तन आउन जरुरी छ ।
तर तपाईंले यति भन्दै गर्दा महासंघमा राजनीतिक दलहरूको चासो धेरै नै छ नि ?
राजनीतिक दलहरूले महासंघलाई चासो दिनुको कारण हामी अहिले ५४ वर्षमा छौं भने सबै जिल्लामा हाम्रो सञ्जाल छ । कतिपय हाम्रा सञ्जालहरू सरकारका भन्दा धेरै छन् । गरिमाको पनि कुरा हो । चुनाव एउटा प्रजातान्त्रिक प्रक्रिया हो । चुनावमा जेजस्ता चासो आउलान्, तर हामीले निजी क्षेत्रको मुख्य एजेन्डा भुल्नु हुँदैन । चुनावमा केही विभाजित भए पनि चुनावपछाडि हामी सबै व्यावसायिक जगत् एक हौँ, एउटै मुद्दामा जानुपर्छ ।
साभार : कारोबार दैनिक ।