वीरगंज, भदौ २९ । यातायात व्यवस्था कार्यालय वीरगंजले सवारी चालक अनुमति पत्रकालागि मंगलबारबाट पुनः परीक्षा सुरु गरेको छ ।
दोस्रो लहरको कोभिड महामारीका कारण गएको बैशाख १४ गते लिखित परीक्षा लिएसँगै बन्द भएको सवारी चालक अनुमती पत्रको परीक्षा ४ महिनापछि मंगलबारबाट फेरि सुरु भएको हो ।
गएको बैशाख १२, १३, १४ र १५ गते बायोमेट्रिक गरी रसिद काटेकाहरुको मंगलबार लिखित परीक्षा सुरु भएको हो । लिखित परीक्षा विहान ७ बजेदेखि ११ बजेसम्म चलेको थियो, भने आज ३० गते बुधबार ट्रायल रहेको छ ।
लिखित र प्रयोगात्मक परीक्षा वीरगंज महानगरपालिका वडा नं. २३ प्रसौनि विर्ता स्थित ट्रायल सेन्टरमा हुने पनि कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
मंगलबार लिएको लिखित परीक्षाको नतिजा साँझसम्ममा आउने र उतीर्ण हुनेले बुधबार प्रयोगात्मक परीक्षामा सहभागि हुन पाउनेछन् । यातायातमा अहिले कार्यालय प्रमुख सुशिल साहले निष्पक्ष ढङ्गबाट सवारीको लाइसेन्स प्रणालीलाई प्रक्रियामा लिएर जाने तयारी गरेपनि दलालहरुको घेराबन्दीका कारण यातायात कार्यालय निरिह बनेको बताइन्छ । हालै एकजना अधिकृतले ब्याक डोरबाट प्रति लाइसेन्स एक लाख लिएर ३५ वटा लाइसेन्स बाँडेको घटनाले कार्यालय भित्र निकै ठूलो महाभारत मच्चिएको छ भने केहि कर्मचारीहरुको फाँट समेत परिवर्तन भएको छ ।
यातायात कार्यालयमा हुने गरेको अनियमितता नियन्त्रण गर्ने योजना कार्यालय प्रमुख सुशिल साहले बनाएपछि उनलाई एकलो बनाउने गरी भित्रकै कर्मचारी र दलालहरुको बीचमा मोर्चाबन्दी तयार भएको बताइन्छ ।